05/04/2026, 14:13:45
सोमबार, बैशाख २१, २०८३

लिपुलेक नेपाली भूमि भएकाले भारतले अस्वीकार गर्न मिल्दैन : हर्कराज राई


काठमाडौँ, वैशाख २१ गते । लिपुलेक नेपालको भूमि भएको तथ्य अस्वीकार गर्ने भारत सरकारको वक्तव्यप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आपत्ति जनाउनुभएको छ ।

सोमबार काठमाडौँको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्तीमा पुग्नुभएका उहाँले सञ्चारकर्मीको जिज्ञासामा लिपुलेक नेपाली भूमि भएकाले भारत सरकारले त्यसलाई अस्वीकार गर्न नमिल्ने बताउनुभयो ।

भारत सरकारको विदेश मन्त्रालयले उक्त भूमि नेपालको हो भन्ने दाबी अनुचित र प्रमाणमा आधारित नभएको टिप्पणी गरेको थियो । अध्यक्ष राईले सन् १८१६ को सुगौली सन्धिले लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्ने भएकाले भारत सरकारले त्यसलाई अस्वीकार गर्न नमिल्ने तर्क गर्नुभयो ।

blog

उहाँले भन्नुभयो, “भारतले त्यसो भन्नु उपयुक्त होइन । त्यो भूमि हाम्रो हो । भारतले पहिलेदेखि नै प्रमाण पुग्दैन भनिरहेको छ । सन् १८१६ को सुगौली सन्धिले नै त्यो भूमि नेपालको भएको पुष्टि गर्छ ।

सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर हटाउने काम गरेपछि प्रतिपक्षी श्रम संस्कृति पार्टीले त्यसको विरोध गर्दै देशभर आन्दोलनमा जाने चेतावनी दिएको छ । पीडितको अवस्था बुझ्दै सम्बन्धित आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले अध्यक्ष राईले हटाइएको बस्तीको अनुगमन सुरु गर्नुभएको हो ।