04/29/2026, 15:15:42
बुधबार, बैशाख १६, २०८३

आधार शिविरमा अनधिकृत बसाइ रोक्न पर्यटन विभागको निर्देशन


काठमाडौँ, वैशाख १६ गते । पर्यटन विभागले पर्वतारोहण तथा ट्रेकिङसम्बन्धी गतिविधि सञ्चालन गर्ने एजेन्सीहरूलाई प्रचलित कानुन र नियम उल्लंघन नगर्न कडा चेतावनी दिएको छ।

विभागले बुधबार जारी गरेको निर्देशनपत्रमा केही एजेन्सीहरूले सगरमाथा आरोहण अभियानसँग सम्बन्धित हिमाली क्षेत्रमा ‘शिविरमा रात बिताउने व्यवस्था’ गरिएको भन्दै विज्ञापन गरेको गुनासो प्राप्त भएको उल्लेख गर्दै त्यस्ता अभ्यास तत्काल रोक्न निर्देशन दिएको हो।

विभागका निर्देशक हिमाल गौतमका अनुसार पर्वतारोहण नियमावलीमा आरोहीका परिवारका सदस्यलाई बढीमा दुई दिनसम्म आधार शिविरमा बस्न दिने व्यवस्था भए पनि त्यसका लागि विभागलाई अनिवार्य रूपमा जानकारी गराउनुपर्ने प्रावधान छ। उनका अनुसार पदयात्रा (ट्रेकिङ) का लागि जाने व्यक्तिहरूलाई आधार शिविरमा क्याम्प बनाएर बस्ने अनुमति हुँदैन। कुनै पनि हिमालको आधार शिविरमा आरोही र अनुमति प्राप्त सदस्यहरू मात्र बस्न पाउने स्पष्ट नियम रहेको उनले बताए।

निर्देशनमा यस्ता गतिविधि प्रचलित कानुनी व्यवस्थाविपरीत भएकाले तत्काल रोक्नुपर्ने उल्लेख गरिएको छ। नियम उल्लंघन भएमा कानुनअनुसार कारबाही हुने चेतावनीसमेत विभागले दिएको छ। यस सम्बन्धमा सबै सम्बन्धित सम्पर्क अधिकृत तथा एजेन्सीहरूलाई नियमन गर्न पत्राचार गरिएको छ भने सगरमाथा आधारशिविरस्थित अस्थायी फिल्ड कार्यालयलाई समेत जानकारीका लागि बोधार्थ पठाइएको छ।

विभागको यो कदमले नेपालमा पर्वतारोहण र पदयात्रा गतिविधिलाई अझ व्यवस्थित, पारदर्शी र कानुनी ढाँचाभित्र सञ्चालन गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ।

– सुरज कुँवर