04/19/2026, 21:15:06
आइतबार, बैशाख ०६, २०८३

एघार फिट लामो दुर्लभ ‘राजगोमन’ सर्पको उद्धार


ढल्केबर, वैशाख ६ गते । धनुषाको सीमावर्ती क्षेत्र महोत्तरीको बर्दिबास नगरपालिका–३, राजाबास गाउँबाट करिब ११ फिट लामो र करिब ६ किलोग्राम तौल भएको दुर्लभ राजगोमन सर्पको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छोडिएको छ ।

बाख्रा खोर नजिक राखिएको दाउराको थुप्रोमुनि सर्प लुकेर बसेको अवस्थामा सर्पको उद्धार टोली उद्धार गरिएको मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले बताउनुभयो । उहाँका अनुसार ट्रस्टका सुबोध आचार्य, गौतम मण्डलसहित सबडिभिजन वन कार्यालय लालगढको संयुक्त टोलीले सर्पलाई नियन्त्रणमा लिएको थियो ।

उद्धारपछि सर्पलाई नजिकैको सामुदायिक वन क्षेत्रमा लगेर सुरक्षित रूपमा छोडिएको मिथिला अध्यक्ष मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार चुरे क्षेत्र राजगोमन सर्पको प्राकृतिक बासस्थान भएकाले सोही क्षेत्रमा पुनःस्थापना गरिएको हो ।

उद्धार टोलीले स्थानीय बासिन्दालाई सर्पको प्राकृतिक बानी व्यवहार, वातावरणीय महत्व तथा भविष्यमा यस्ता सर्प देखिएमा सुरक्षित रूपमा घरबाहिर कसरी हटाउने भन्नेबारे पनि जानकारी दिएको उहाँले बताउनुभयो । राजगोमन सर्प विश्वकै सबैभन्दा विषालु सर्प रहेको र यसको संरक्षण जैविक विविधताका लागि महत्वपूर्ण भएको उहाँको भनाइ छ ।

– विजयकुमार साह