04/13/2026, 18:58:02
सोमबार, चैत ३०, २०८२

प्रिमियर लिगमा रजत विजेता एरिका स्वदेश फिर्ता


काठमाडौँ, चैत ३० गते । चीनमा सम्पन्न कराते वान प्रिमियर लिगमा रजत पदक जित्न सफल नेपालकी कराते स्टार एरिका गुरुङ सोमबार स्वदेश फर्किनुभएको छ ।

चीनको लेसानमा आइतबार भएको फाइनलमा एरिका काजकिस्तानकी सोफिया बर्लुतशोभासँग २–१ ले पराजित हुनुभएको थियो । एरिकाले यसअघि सेमिफाइनलमा एरिकाले महिला ६८ केजी तौल समूहमा इटालीकी फेराकुटी क्लियोलाई ८–३ ले हराएर फाइनलमा स्थान बनाउनुभएको थियो ।

यसअघि टर्कीमा भएको कराते वान प्रिमियर लिगको फाइनलमा एरिका सोफियासँग नै पराजित हुनुभएको थियो । यस लिगको समूह चरणको सबै खेल जित्नुभएकी एरिकाले क्वाटरफाइनलमा स्लोभेनियाकी जिब्रेत जालालाई ८–० ले सहजै हराउनुभएको थियो ।

एरिका, उहाँको प्रशिक्षक र व्यवस्थापकसहितको टोलीलाई त्रिभुवन विमान स्थलमा नेपाल कराते महासङ्घका पदाधिकारीले स्वागत गरेका थिए ।