04/08/2026, 17:02:37
बुधबार, चैत २५, २०८२

प्रधानमन्त्री शाहद्वारा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक संवाद


काठमाडौँ, चैत २५ गते । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्दै सरकारका प्राथमिकता र परराष्ट्र नीतिका विषयमा जानकारी गराएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उक्त कार्यक्रममा विभिन्न मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागी कूटनीतिक प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई बधाई दिँदै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

 

भेटका क्रममा उनीहरूले नेपालको विकास प्रयासमा सहकार्य र समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले नेपालले अवलम्बन गर्दै आएको सन्तुलित तथा व्यवहारिक परराष्ट्र नीतिलाई निरन्तरता दिने उल्लेख गर्दै छिमेकी तथा विकास साझेदार राष्ट्रहरूसँग विश्वास र पारस्परिक सम्मानमा आधारित सम्बन्ध सुदृढ गर्ने धारणा राखे।

उनले शान्ति, स्थायित्व र साझा समृद्धिलाई प्राथमिकतामा राख्दै विदेशमा रहेका नेपाली नागरिक तथा श्रमिकको सुरक्षा र हित संरक्षणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। साथै सुशासन प्रवर्द्धन, आर्थिक विकास र जनजीवन सुधारलाई सरकारको मुख्य एजेन्डाका रूपमा अघि बढाइने बताए।

कार्यक्रममा परराष्ट्र मन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, मुख्यसचिवलगायत उच्च सरकारी अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..