04/05/2026, 22:21:51
आइतबार, चैत २२, २०८२

फेवाताल मापदण्डमा पर्ने सरकारी संरचना पहिले हटाउँछौँ : मुख्यमन्त्री पाण्डे


लेखनाथ, चैत १७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताललाई चाँडै अतिक्रमण मुक्त पारी सौन्दर्यकरणसमेत गर्न सरकार दत्तचित्त रहेको उल्लेख गर्नुभएको छ ।

प्रदेश सभा सदस्यहरुले शून्य समयमा उठाएका जिज्ञाशाहरुको जवाफ दिँदै उहाँले अहिले सङ्घ सरकारको चासोले उत्साह थपिएको उल्लेख गर्नुभयो । “अहिले प्रधानमन्त्रीले यसबारे चासो राख्नुभएको छ । त्यसले हामीलाई उत्साहित बनाएको छ । सङ्घले गर्नुपर्ने काम समयमै गर्छ भन्ने लागेको छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “फेवातालबारे सबैले बोल्यौ, अब गर्ने बेला आयो ।

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई टेलिफोन गरी तालको अतिक्रमण हटाउने प्रक्रिया र प्रगतिबारे चासो राख्नुभएको थियो । सरकारको यस बुँदै सुशासन मार्गचित्रमा फेवातालका अतिक्रमित संरचना हटाउन तीन महिनाभित्र सुरुआत गर्ने उल्लेख छ । फेवातालको मापदण्ड ६५ मिटर कायम गर्न सर्वाेच्चले दिएको परमादेश कार्यान्वयन गर्न गण्डकी प्रदेशमा मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा सहजीकरण समिति बनेको छ । त्यो समितिले तालको उच्चतम बिन्दु पत्ता लगाई क्षेत्रफल यकिन गरी तालकिनारमा पोलसमेत गाडिसकेको छ ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले ३१ सालअघि दर्ता भएकालाई मुआब्जा दिइने र त्यसपछि पछि दर्ता भएका जग्गालाई दूषित पनि खारेज गर्ने तयारी भएको सुनाउनुभयो। “मालपोतले दूषित जमिन र कित्ताहरु दिएपछि पहिलो चरणमा मापदण्डमा पर्ने सरकारी संरचना हटाउँछौँ,” उहाँले भन्नुभयो, “दोस्रो चरणमा दूषित जग्गामा बनेका संरचना हटाइन्छ, अर्काे चरणमा मुआब्जा दिनुपर्ने जग्गाको सङ्घ सरकारले मुआब्जा दिएपछि अतिक्रमण हट्छ ।

तालको ६५ मिटरबाहिरका रोक्का रहेका जमिनहरु फुकुवा गर्नुपर्ने भएकाले छलफल समितिमा छलफल भइरहेको उहाँको भनाइ छ । मुख्यमन्त्री पाण्डेले यो अधिवेशन चाँडै अन्त्य हुने जनाउँदै भदौ २३ र २४ को घटनाले कार्यालय जल्दा र विधेयकका डाफ्टहरुसमेत नष्ट हुँदा नयाँ विधेयक पेश हुन नसकेको उल्लेख गर्नुभयो ।

निर्वाचनपछि फेरिएको परिस्थिति अनुरुपा सीमित साधन, स्रोतबाट असीमित अपेक्षा पूरा गर्ने गरी लाग्न सबै प्रदेशसभा सदस्यहरुलाई आग्रह गर्नुभयो । सङ्घमा नयाँ बनेको सरकारको १०० बुँदे सुशासनका मार्गचित्रमा प्रदेशले उठाउँदै आएका धेरै एजेन्डाहरु रहेको उल्लेख गर्दै उहाँले ती बुँदाहरु कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशमा राइड सेयरिङ लागू हुने चरणमा भएको उल्लेख गर्दै उहाँले मध्यपूर्व तनावले केही ढिलाइ भएको दाबी गर्नुभयो । “हामी भाडादर तोक्ने क्रममा छौँ, अहिले तेलको मूल्य दोब्बर भएको छ,” उहाँले भन्नुभयो, “यो बेलामा भाडा निर्धारण ग¥यौँ भने पछि अप्ठेरो पर्छ भनेर केही समय पर्खिएका हौँ ।

प्रदेशसभाको मङ्गलबार भएको बैठकले गण्डकी प्रदेशमा जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । सामाजिक विकास तथा कृषि समितिमा चैत २२ गते पठाइएको विधेयक प्रतिवेदनसहित मङ्गलबार सदनमा प्रस्तुत भएको थियो । दफावार छलफलपछि विधेयक मङ्गलबारै पारित भएको हो ।

स्वास्थ्य मन्त्री कृष्ण पाठकले विधेयकले प्रदेशको आवश्यकता, स्थानीय तहहरुको अधिकार र नागरिकको स्वास्थ्यको अधिकारलाई सम्बोधन गर्ने उल्लेख गर्नुभयो । त्यसअघि सदनको शून्य समयमा प्रदेशसभा सदस्यहरु कल्पना तिवारी, डिल्लीराम सुवेदी, फणीन्द्र देवकोटा, भक्तबहादुर कुँवर, लीलबहादुर थापा, श्यामराजा महत लगायतले आफ्नो क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सभामुख कृष्णप्रसाद धितालले बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगित गनुभएको छ ।