काठमाडौँ, चैत्र १० : कांग्रेस नियमित १५औं महाधिवेशनको तयारीमा लागेको छ । सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेसँगै कांग्रेसले मंगलबार पुनः केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
सभापति थापाको अध्यक्षतामा बस्न लागेको बैठकको मुख्य एजेन्डा आगामी महाधिवेशनको प्रक्रिया र तयारी राखिएको छ । तर, पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले भने विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिले अघि बढाउने प्रक्रियामा सामेल नै नहुने बताउँदै आएका छन् । विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिमा देउवा र अर्का नेता शेखर कोइराला पक्षको प्रतिनिधित्व शून्य छ ।
मंगलबारको बैठकमा सभापति थापाले प्रतिनिधिसभा निर्वाचनको परिणाम, आफ्नो राजीनामाको पृष्ठभूमि तथा कांग्रेसले अवलम्बन गर्नुपर्ने राजनीतिक र संगठनात्मक कार्यदिशाबारे धारणा प्रस्तुत गर्ने तयारी छ । निर्वाचनमा पार्टीको अपेक्षाअनुसार परिणाम नआएको र आफैं पराजित भएको विषयमा थापा सार्वजनिक रूपमा मौन रहँदै आएका छन् ।
सर्लाही–४ बाट पराजित भएका उनले विजयी रास्वपा अमरेशकुमार सिंहलाई सामाजिक सञ्जालमार्फत बधाई दिएयता कुनै धारणा व्यक्त गरेका छैनन् । सार्वजनिक कार्यक्रममा समेत उनको उपस्थिति न्यून देखिँदै आएको छ । निर्वाचन परिणामपछि नैतिक जिम्मेवारी लिँदै थापाले सभापति पदबाट गत बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । उनी आफैंले भने राजीनामाबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् ।
शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकले थापाको राजीनामा सर्वसम्मतिले अस्वीकृत गर्ने निर्णय गरेको थियो । साथै, महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्वलाई मध्यनजर राखेर जिम्मेवारीमा फर्कन आग्रह गरेको थियो । सभापतिको राजीनामा अस्वीकृत भएसँगै महाधिवेशनको तयारीमा पार्टी अघि बढेको महामन्त्री गुरुराज घिमिरेले बताए । अब बस्ने बैठकबाट क्रियाशील सदस्यता वितरणदेखि केन्द्रीय महाधिवेशनको कार्यतालिका ल्याउने तयारी रहेको उनले जानकारी दिए ।
गत १८ पुसमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकबाट आगामी २८–३१ वैशाखमा १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित भएको थियो । उक्त तालिका विशेष महाधिवेशनले खारेज गरिसकेकाले अर्को कार्यतालिका आउन सक्ने महामन्त्री घिमिरेले बताए । तर, अर्का एक पदाधिकारीले भने देउवा पक्षका नेताहरू प्रक्रियामा सामेल भएमा सहमतिको र प्रक्रियामा सामेल नहुने भएमा तत्कालीन कार्यवाहक सभापति खड्काले नै पेस गरेकै मितिमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका आउने जानकारी दिए ।
कार्यतालिका ल्याउनुअघि सभापति थापा र उपसभापति शर्माले मंगलबारदेखि देउवा पक्षीय नेताहरूसँग बृहत् एकताका लागि संवाद गर्ने गृहकार्य छ । विशेष महाधिवेशनबाट १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति गठन भएको थियो । कार्यसमितिमा सभापतिले मनोनीत गर्न पाउने २० प्रतिशत अर्थात् ३३ जना केन्द्रीय सदस्यबाट देउवा र कोइराला पक्षलाई जोडेर सहमति जुटाउने कसरत थापा र शर्माको छ ।
उपसभापति शर्माले केही दिनदेखि यस विषयमा नेताहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकमार्फत अनौपचारिक संवादसमेत गर्दै आएका छन् । महामन्त्री घिमिरेले मंगलबारको बैठकपछि सभापतिसहितका पदाधिकारीहरूले आ–आफ्नो सम्बन्ध र सम्पर्कका आधारमा संवाद गरेर महाधिवेशनको प्रक्रियामा सबै पक्षलाई जोड्न पहलकदमी हुने बताए ।
यता देउवा पक्षका शीर्ष नेताहरूको आइतबार बसेको बैठकले निर्वाचनको समीक्षाका लागि भनेर समानान्तर बैठक बोलाउने निष्कर्ष निकालेको छ । नेता मीन विश्वकर्माका अनुसार तत्कालीन कार्यवाहक सभापति खड्कालाई सबै पक्षसँग छलफल गरेर बैठक बोलाउने जिम्मेवारी दिइएको छ । तर, देउवा पक्षकै कतिपय नेताहरू भने समानान्तर गतिविधि अघि बढाउनेभन्दा एकता कायम गरेर जानुपर्ने पक्षमा देखिएका छन् । खासगरी सभापति थापाकै हस्ताक्षरबाट टिकट लिएका अधिकांश नेताहरू सहमतिको मध्यमार्गी बाटोमा देखिएका छन् ।
अर्को पक्षले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउँदै अदालतमा गएकाले त्यसैलाई स्विकारेर महाधिवेशनको प्रक्रियामा सामेल हुन नसकिने तर्क गर्दै आएको छ । खासगरी यस्तो तर्क गर्नेमा टिकट नपाएका नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायत छन् ।
पूर्वसभापति देउवा र नेता शेखर कोइराला पक्षमा रहेका ३५ नेताले सभापति थापाको हस्ताक्षरबाट टिकट लिई चुनाव लडेका थिए । जसमा नेता शेखर कोइराला, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, विजयकुमार गच्छदार, प्रकाशशरण महत, महेन्द्र यादव, एनपी साउद, किशोरसिंह राठौर, नैनसिंह महर, शंकर भण्डारी लगायत छन् ।
नेता महत पार्टीभित्र बृहत् एकता नहुँदा चुनौती अझै गहिरिने भन्दै सहमतिको कुनै न कुनै सूत्र खोजेर अघि बढ्नुपर्ने बताउँछन् । उनले देउवा पक्षको बैठकले समानान्तर गतिविधि अघि बढाउने निष्कर्ष निकालेको भन्ने सही नभएको बताए । ‘निर्वाचन पछाडि साथीभाइबीच भेटघाट भएको हो । तर यसै गर्ने भन्ने कुरा त्यहाँ भएको होइन,’ उनले भने, ‘विशेष महाधिवेशनमा सबैको सहभागिता नभएका कारण दुवै पक्षलाई जोडेर कसरी सहमति निकाल्न सकिन्छ, त्यसको सूत्र खोज्नुपर्छ । आउने चुनौती सामना गर्न विभाजित मानसिकताबाट अघि बढेर सम्भव छैन ।’
देउवा पक्षका अर्का एक नेताले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई विघटन गरेर महाधिवेशन आयोजक समिति बनाएमा सहमति जुट्ने बताउँछन् । ‘नत्र यही केन्द्रीय कार्यसमितिलाई स्विकारेर प्रक्रियामा सहभागी हुन शेरबहादुर दाइ, पूर्णबहादुर दाइ नै तयार हुनुहुन्न,’ उनले भने, ‘त्यतिबेला अदालतको फैसलाको प्रतीक्षा गर्नुबाहेक अर्को विकल्प देखिँदैन ।’
महामन्त्री घिमिरेले विधि, पद्धतिबाट आएको र संवैधानिक निकायले वैधानिकता दिइसकेको विशेष महाधिवेशनबाट चुनिएको केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव स्वीकार्य नहुने बताए । अब बस्ने बैठकले क्रियाशील सदस्यताको काम तत्काल अघि बढाउनेदेखि जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने, निर्वाचन समिति गठन गर्ने, भ्रातृसंस्थाको अधिवेशन, १ सय ६५ निर्वाचन क्षेत्रका पराजित र विजेता उम्मेदवारहरूसँगै समीक्षा गर्ने विषयसमेत बैठकमा छलफल गरी निर्णय हुने उनले जानकारी दिए ।
पार्टीको क्रियाशील सदस्यताको वितरण र नवीकरणका धेरै काम निर्वाचन अगाडि नै भइसकेका छन् । निर्वाचनपछाडि त्यसलाई समेत अद्यावधि गर्नुपर्ने घिमिरेले बताए । ‘वडा र क्षेत्रमा क्रियाशील सदस्यताकै भोट पनि आएन । त्यसैले सदस्यता अद्यावधि गर्नुपर्ने देखियो,’ उनले भने, ‘त्यसका लागि केन्द्रीय प्रतिनिधिलाई खटाइनेछ ।’
कांग्रेसको वैधानिकतासम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतले २२ चैतमा पेसी तोकेको छ ।
– कुलचन्द्र न्यौपाने
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
