नेपालगन्ज, पुस १९ गते। बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा शनिबार एक जनाको मृत्यु भएको छ।
बाघको आक्रमणबाट स्थानीय ६२ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाघको आक्रमणबाट केही समय अघि पनि कुसुममै एक जनाको मृत्यु भएको थियो।
प्रहरीका अनुसार गाई चराउन गएको बेला शनिबार दिउँसो साढे १ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘बिचार दमार’ जंगलमा उहाँमाथि बाघले आक्रमण गरेको थियो। भण्डारीसँगै गाई चराउन गएका स्थानीय पिमलाल डाँगीले बाघले एक्कासी आक्रमण गरेपछि चिच्याउँदा–चिच्याउँदै बाघले लगेको बताउनु भएको प्रहरीले जनाएको छ।
भण्डारीसँगै रहेका अन्यलाई पनि बाघले आक्रमण गर्न खोजेपछि उहाँले भागेर ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सो घटना सार्वजनिक भएपछि बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा लगायतको टोली जंगलमा पुगेको थियो।
बाघले भण्डारीको घाँटी र टाउकोमा आक्रमण गरेको तथा शरीरको अन्य भागमा कतै चोट नदेखिएको घटनास्थलमा पुगेकाले जनाएका छन्। बाघले आक्रमण गरेको सो क्षेत्र पूर्व-पश्चिम राजमार्गको सौरी खोलादेखि उत्तरतर्फ पहाडमा पर्दछ।
– सिराज खान
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
