04/07/2026, 23:08:08
मङ्गलबार, चैत २४, २०८२

तथ्य र प्रमाण भएकैले ९ घन्टा बयान लिएको हो : गगन थापा


१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सहकारी संस्थाका बचत ठगीबारे छानबिन गर्न बनेको संसदीय समितिले तथ्य र प्रमाणकै आधारमा ९ घन्टासम्म बयान लिएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्ष्य गर्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै तथ्य र प्रमाणका आधारमा ९ घन्टा बयान भएको बताए। लामिछानेसँग समितिले गत भदौ ७ गते ९ घन्टासम्म बयान लिएको थियो।

‘हामीसँग भएका तथ्य र प्रमाणहरू समितिमा हाम्रा साथीहरूले बोकेर जानु भएन होला? अनि यसमा ख्याल गर्नु भएन ९ मिनेटमा चट् भनेको ठाउँमा ९ घन्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था, त्यो तथ्य र प्रमाण भएकोले आएको होइन होला?’ समितिका सभापति सूर्य थापाले मेहनत गरेको र समितिप्रति विश्वास रहेको उनले बताए।

‘बरू साथीहरू झुक्किनुभयो कि भन्ने लागेको छ मलाई। बयान हो बयान, सफाइ होइन। फैसला त आउनै बाँकी छ, म त तथ्य र प्रमाणका आधारमा फैसला आउँछ भनेर बसिराखेको छु।’ फैसला आउने दिन गनेर बस्न पनि उनले आग्रह गरेका छन्।

सहकारी संस्थाका बचत अपचनमा लामिछाने जोडिएको आरोपसहित कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि समिति बनेको थियो।