10/08/2026, 19:28:40
बिहिबार, असोज २२, २०८३

त्रिभुवन विश्वविद्यालयलाई अनुसन्धान केन्द्रित बनाइने: आ.व २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत


काठमाडौँ, असोज २२ गते । त्रिभुवन विश्वविद्यालयलाई शिक्षण केन्द्रित संस्थाबाट ज्ञान उत्पादन, नवप्रवर्तन र राष्ट्रिय विकासका लागि समाधान सिर्जना गर्ने अग्रणी अनुसन्धान विश्वविद्यालयका रूपमा विकास गरिने भएको छ।

विश्वविद्यालय सभाको साधारण बैठकमा रजिष्ट्रार डा. रविन्द्र शिवाकोटीले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उच्च गुणस्तरीय अनुसन्धान, डिजिटल रूपान्तरण र परीक्षा प्रणाली सुधारको खाका सार्वजनिक गर्नुभएको हो।

नीति तथा कार्यक्रम अनुसार त्रिविका केन्द्रीय विभाग, अनुसन्धान केन्द्र र क्याम्पसहरूमा अनुसन्धान पूर्वाधारको स्तरोन्नति गरिनुका साथै बौद्धिक सम्पत्ति व्यवस्थापन प्रणाली लागू गरिनेछ।

नवप्रवर्तन, पेटेन्ट दर्ता, स्टार्टअप र शोधपत्र प्रकाशन गर्ने अनुसन्धानकर्ता तथा प्राध्यापकहरूलाई आर्थिक प्रोत्साहन तथा पुरस्कार प्रदान गरिनेछ। साथै विश्वविद्यालयको अनुसन्धानलाई समाज र उद्योगसँग जोड्न ‘नाइस’ (NICE) मोडेल अवलम्बन गरिनेछ।

डिजिटल रूपान्तरणअन्तर्गत विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक सेवा प्रवाहलाई पारदर्शी र सुशासित बनाउन एकीकृत मोबाइल एप, डिजिटल ड्यासबोर्ड तथा डिजिटल भूनक्साङ्कन (Digital Mapping) तयार गरिनेछ।

त्यस्तै, सम्पूर्ण निकायमा इन्टरनेट/इन्ट्रानेट पूर्वाधार सुदृढ गर्दै हरित विश्वविद्यालय (Green University) को अवधारणा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

परीक्षा प्रणालीलाई थप पारदर्शी र विश्वसनीय बनाउन ‘परीक्षा व्यवस्थापन सूचना प्रणाली‘ (EMIS) को पूर्ण कार्यान्वयन गरिने भएको छ। यसबाट उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन र प्रमाणपत्र वितरण लगायतका सेवाहरू डिजिटल प्रणालीबाट समयबद्ध रूपमा सञ्चालन हुनेछन्। सँगै साङ्गठनिक पुनर्संरचनामार्फत त्रिविको प्राज्ञिक प्रतिष्ठा र अन्तर्राष्ट्रिय छवि अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।

विषय (Category) मुख्य नीति तथा कार्यक्रम (Key Policy / Program)
प्रस्तुतकर्ता रजिष्ट्रार डा. रविन्द्र शिवाकोटी (त्रिवि सभा बैठक)
अनुसन्धान तथा नवप्रवर्तन • प्रतिष्पर्धात्मक अनुसन्धान अनुदान र बन्दोबस्ती कोष सञ्चालन
• पेटेन्ट दर्ता, स्टार्टअप र बौद्धिक सम्पत्ति संरक्षण
• ‘नाइस’ (NICE) मोडेल र अनुसन्धानकर्तालाई आर्थिक प्रोत्साहन
डिजिटल रूपान्तरण • एकीकृत मोबाइल एप र डिजिटल ड्यासबोर्ड सञ्चालन
• आङ्गिक/सम्बन्धित क्याम्पसको डिजिटल भूनक्साङ्कन
• हरित विश्वविद्यालय (Green University) को अवधारणा
परीक्षा प्रणाली सुधार • EMIS प्रणालीको पूर्ण कार्यान्वयन
• नतिजा प्रकाशन र प्रमाणपत्र वितरण डिजिटल माध्यमबाट समयबद्ध गरिने
संस्थागत पुनर्संरचना ओ एन्ड एम (O&M) सर्वेक्षण र रणनीतिक योजनाका आधारमा प्राज्ञिक तथा प्रशासनिक पुनर्संरचना