09/25/2026, 13:08:52
शुक्रबार, असोज ०९, २०८३

अविरल वर्षाका कारण फोहोर ढुवानी प्रभावित: केही दिन घरबाहिर फोहोर ननिकाल्न काठमाडौँ महानगरको अपिल (सूचनासहित)


काठमाडौँ, असोज ९ गते । अविरल वर्षाका कारण ल्यान्डफिल साइट जाने सडक र बन्चरेडाँडा परिसरमा माथिबाट लेदोसहितको माटो खसिरहेकाले काठमाडौँ महानगरपालिकाले केही समयका लागि घर, पसल तथा कार्यालयबाट फोहोर बाहिर ननिकाल्न आग्रह गरेको छ। वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै फोहोर संकलन र ढुवानी कार्य प्रभावित भएकाले महानगरवासीसँग सहयोगको अपिल गरेको हो।

महानगरपालिकाले घर, पसल, व्यवसाय तथा कम्पाउन्डबाट निस्कने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला वा खुला ठाउँमा नफाल्न कडा अनुरोध गरेको छ। फोहोर संकलन नियमित नहुञ्जेलसम्म सम्भव भएसम्म फोहोरलाई आफ्नै घर तथा परिसरभित्र सुरक्षित रूपमा राखिदिन नगरवासीलाई आग्रह गरिएको छ।

यसैगरी, महानगरले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै गरी सुरक्षित रूपमा व्यवस्थापन गर्न विशेष ध्यानाकर्षण गराएको छ। सडक र सार्वजनिक स्थानमा फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानी निकासमा समेत बाधा पुगी ढल थप्पिने र डुबानको जोखिम बढ्ने चेतावनी दिइएको छ।

मौसममा सुधार आई सडकको अवस्था र ल्यान्डफिल साइटको स्थिति सामान्य हुनेबित्तिकै फोहोर संकलन तथा ढुवानी सेवा पुनः नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।

विवरण (Detail)स्थिति/सूचना (Status/Detail)
समस्याको कारणनिरन्तर वर्षाले ल्यान्डफिल साइटको सडकमा लेदो र माटो खस्नु
मुख्य निर्देशनकेही समय घर, पसल र कम्पाउन्ड बाहिर फोहोर ननिकाल्ने
प्रतिबन्धित कार्यसडक, चोक, खोला-नाला र खुला स्थानमा फोहोर फाल्न नपाइने
फोहोर वर्गीकरणकुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सुरक्षित राख्नुपर्ने
सेवा पुनः सञ्चालनवर्षा रोकिएर ल्यान्डफिल साइटको अवस्था सामान्य भएपछि
आयोजक/निकायवातावरण व्यवस्थापन विभाग, काठमाडौँ महानगरपालिका