09/21/2026, 11:33:32
सोमबार, असोज ०५, २०८३

जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन सरकारको गृहकार्य: बाढीले पुर्‍याएको क्षतिको प्राविधिक व्यवस्थापन हुँदै


काठमाडौँ, असोज ५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी जाडोयाम (हिउँद) मा मुलुकभर विद्युत आपूर्ति सहज र सन्तुलित बनाउन मन्त्रालयले तीव्रताका साथ गृहकार्य गरिरहेको बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले हिउँदमा विद्युतको माग अत्यधिक बढ्ने भएकाले सम्भावित सङ्कट टार्न प्राविधिक तयारी अगाडि बढाइएको जानकारी दिनुभयो।

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विद्युत पूर्वाधारमा क्षति पुग्दा राष्ट्रिय प्रसारण लाइनको कूल प्रणालीबाट करिब १० प्रतिशत विद्युत बाहिरिएको छ। यसले गर्दा राष्ट्रिय प्रसारण लाइनमा केही चाप परेको भए पनि नेपाल विद्युत प्राधिकरणले हालसम्म आपूर्तिमा सन्तुलन मिलाइरहेको मन्त्री श्रेष्ठले स्पष्ट पार्नुभयो। बाढीका कारण उत्पन्न असहज परिस्थितिलाई सामान्य बनाउन थप प्रसारण लाइनहरू जोड्ने काम भइरहेको छ।

विशेष गरी हिउँदका दुई महिना विद्युतको माग उच्च हुने भएकाले त्यस अवधिमा आपूर्ति निरन्तर राख्न जोखिमयुक्त क्षेत्रहरूको पहिचान र सम्बोधन भइरहेको छ। मन्त्री श्रेष्ठका अनुसार नुवाकोटमा बाढी आएको २४ घण्टाभित्रै विद्युत सेवा पुनः सञ्चालन गरिएको र रसुवामा पनि हालै विद्युतीकरण सम्पन्न भइसकेकाले सुख्खायामको व्यवस्थापनका लागि प्राविधिक टोली पूर्ण रूपमा खटिएको छ।

सरकारले प्रसारण लाइनको मर्मत सम्भार र सम्भावित जोखिमको पूर्वतयारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। आगामी दिनमा प्रसारण लाइनमा नए स्रोतहरू जोड्दै जाडोयाममा पनि अहिलेकै जस्तै सन्तुलित र निर्वाध विद्युत आपूर्ति कायम राख्नेमा मन्त्री श्रेष्ठले विश्वास व्यक्त गर्नुभएको छ।

क्र.सं.विषय / समस्याविवरण तथा गरिएका प्रयास
भोटेकोशी बाढीको प्रभावबाढीले पूर्वाधारमा क्षति पुर्‍याउँदा प्रणालीबाट १०% विद्युत बाहिरिएको र प्रसारण लाइनमा चाप परेको।
प्राधिकरणको व्यवस्थापनप्रसारण लाइनमा चाप भए तापनि नेपाल विद्युत प्राधिकरणले हाल आपूर्ति सन्तुलित राखिरहेको।
जाडोयामको गृहकार्यहिउँदका दुई महिना माग उच्च हुने भएकाले प्रसारण लाइन जोड्ने र जोखिमयुक्त ठाउँको सम्बोधन भइरहेको।
द्रुत मर्मत र प्राविधिक तयारीनुवाकोटमा २४ घण्टाभित्र विद्युत पुन: जोडिएको र रसुवामा विद्युतीकरण गरी सुख्खायामको तयारी जारी रहेको।