

मकवानपुर, असोज ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ११औँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै समावेशी विकास र समृद्ध प्रदेश निर्माणमा प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
उहाँले प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न निरन्तर क्रियाशील रहने स्पष्ट पार्नुभयो।
मुख्यमन्त्री थापा मगरले लोकतन्त्र र गणतन्त्रका लागि बलिदान दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संविधानले नागरिक स्वतन्त्रता, मौलिक हक, विधिको शासन र विविधताबीचको एकतालाई मुख्य आधार बनाएको बताउनुभयो। संविधान प्रदत्त अधिकारहरू नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनै तहका सरकार, राजनीतिक दल र नागरिकको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ।
साथै, हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूप्रति गहिरो सहानुभूति प्रकट गर्दै उहाँले उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा प्रदेश सरकार पूर्ण जिम्मेवारीका साथ खटिने विश्वास दिलाउनुभएको छ। संविधान दिवसले राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा उहाँले व्यक्त गर्नुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































