09/19/2026, 08:36:21
शनिबार, असोज ०३, २०८३

संविधान दिवसमा राष्ट्रपति पौडेलको शुभकामना: शान्ति, सुशासन र समृद्धिको कामना


काठमाडौँ, असोज ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को पावन अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ।

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजलाई समान संरक्षण दिने संविधानको मर्म अनुसार आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्व कायम राख्न उहाँले जोड दिनुभएको छ।

राष्ट्रपति पौडेलले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवादउन्मुख अर्थतन्त्रको लक्ष्य लिएको उल्लेख गर्दै राज्यका सेवा-सुविधामा सबै नागरिकको समान पहुँच र सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताउनुभयो। साथै, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरूको उद्धार, राहत र पुनस्थापनाका लागि एकताबद्ध भई अगाडि बढ्न सबैमा आह्वान गर्नुभएको छ।

यसैबीच, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि शुभकामना सन्देश जारी गर्दै समावेशिता, समानता र जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्वप्रति सबैले प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिनुभएको छ। संविधानको दायराभित्रै रहेर पछिल्ला सामाजिक आन्दोलनहरूको सम्बोधन हुनुले यसको लचकता र समावेशी चरित्रलाई पुनः पुष्टि गरेको उपराष्ट्रपति यादवको भनाइ छ।