09/12/2026, 21:06:01
शनिबार, भदौ २७, २०८३

यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक: असोज ९ गते मुख्य दिन, असोज १३ गते लिङ्गो ढाल्ने


काठमाडौँ, भदौ २७ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष (२०८३) मनाइने प्रसिद्ध सांस्कृतिक पर्व इन्द्रजात्राका विभिन्न धार्मिक विधि तथा साइतहरू सार्वजनिक गरेको छ।

समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार इन्द्रजात्राको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयाबाट सुरु हुन्छ। जसअनुसार इन्द्रध्वजाको लिङ्गो निर्माणका लागि रुख काट्न वन यात्रा जाने साइत भदौ २८ गते आइतबार बिहान ९:५३ बजे र भक्तपुरको चित्तपोल वनमा रुख काट्ने साइत सोही दिन राति ८:४७ बजे निर्धारण गरिएको छ।

समितिका अनुसार काटिएको लिङ्गोलाई असोज ३ गते शनिबार बिहान ८:०५ बजे काठमाडौँ नगर प्रवेश गराइने छ भने असोज ७ गते बुधबार बिहान ७:४७ बजे हनुमानढोकामा इन्द्रध्वजोत्थान (लिङ्गो उभ्याउने) गरिनेछ।

इन्द्रजात्राको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा श्रीकुमारी, गणेश र भैरवको रथयात्रा गराइनेछ। उक्त मुख्य दिनमा राष्ट्रपतिलगायत अतिविशिष्ट व्यक्तित्वहरूले हनुमानढोकास्थित गद्दी बैठक पुगेर कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहेको छ।

त्यसैगरी, असोज १० गते शनिबार माथिल्लो टोलमा रथयात्रा गराइनेछ भने असोज १३ गते मङ्गलबार महिलाहरूले मात्र रथ तानेर नानीचा यात्रा सम्पन्न गर्नेछन्। सोही दिन राति ९:२५ बजे इन्द्रध्वजा ढाल्ने (इन्द्रध्वज पातन) साइत रहेको छ। लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले श्रीकुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेसँगै १३ दिन लामो ऐतिहासिक इन्द्रजात्रा पर्व औपचारिक रूपमा समापन हुनेछ।

इन्द्रजात्रा २०८३: मुख्य साइत तथा कार्यतालिका

मितिदिनसमयधार्मिक विधि / कार्यक्रम
भदौ २८ गतेआइतबारबिहान ९:५३ बजेलिङ्गोका लागि वन यात्रा जाने साइत
भदौ २८ गतेआइतबारराति ८:४७ बजेभक्तपुरको चित्तपोल वनमा रुख काट्ने साइत
असोज ३ गतेशनिबारबिहान ८:०५ बजेलिङ्गो नगर प्रवेश गराउने साइत
असोज ७ गतेबुधबारबिहान ७:४७ बजेइन्द्रध्वजोत्थान (हनुमानढोकामा लिङ्गो उभ्याउने)
असोज ९ गतेशुक्रबारमुख्य दिन: तल्लो टोलमा रथयात्रा र गद्दी बैठकमा राष्ट्रपतिद्वारा अवलोकन
असोज १० गतेशनिबारमाथिल्लो टोलमा रथयात्रा
असोज १३ गतेमङ्गलबारमहिलाहरूद्वारा मात्र रथ तानेर नानीचा यात्रा
असोज १३ गतेमङ्गलबारराति ९:२५ बजेलिङ्गो ढाल्ने (इन्द्रध्वजपातन) र जात्रा समापन