09/11/2026, 08:50:06
शुक्रबार, भदौ २६, २०८३
सिभिल सहकारी ठगी प्रकरण

सिभिल सहकारी ठगी प्रकरण: इच्छाराज तामाङलाई साढे पाँच वर्ष कैद र जरिबाना, १६ जनालाई सजाय तोकियो


काठमाडौँ, भदौ २६ गते। काठमाडौँ जिल्ला अदालतले बहुचर्चित सिभिल सहकारी ठगी प्रकरणमा संविधान सभा सदस्यसमेत रहनुभएका इच्छाराज तामाङलाई पाँच वर्ष छ महिना कैद सजाय सुनाएको छ।

न्यायाधीश कृतबहादुर बोहराको इजलासले गत भदौ ११ गते कसुर ठहर गरेकोमा बिहीबार सजाय निर्धारण गर्दै तामाङलाई कैदका साथै ५० हजार रुपियाँ जरिबाना र बिगो अनुसार दामासाहीले हुन आउने रकम जफतको आदेश दिएको हो।

जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार यस प्रकरणमा तामाङसहित कुल १६ जना प्रतिवादीहरूलाई कैद तथा जरिबानाको सजाय तोकिएको छ। कुल ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपियाँ बिगो दाबी रहेको उक्त मुद्दामा अदालतले १६ मध्ये १५ प्रतिवादीको हकमा मूल बिगोको दामासाही रकम भराउन आदेश दिएको छ।

प्रतिवादीहरूमध्ये केशवलाल श्रेष्ठलाई पाँच वर्ष कैद र ४५ हजार रुपियाँ जरिबाना तथा रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर, सिर्जना शाक्य तामाङ र लालकाजी गुरुङलाई जनही एक-एक वर्ष कैदको सजाय सुनाइएको छ। साथै, प्रतिवादी लालकाजी गुरुङको हकमा सहकारीबाट लिएको ६ करोड ९० लाख रुपियाँको सावाँ तथा ब्याजसमेत भराउने आदेश अदालतले गरेको छ।

मुख्य प्रतिवादीहरू र सजायको संक्षिप्त तालिका:

प्रतिवादीको नामकैद सजायजरिबाना (रु.)अन्य फैसला / आदेश
इच्छाराज तामाङ५ वर्ष ६ महिना५०,०००बिगो अनुसार दामासाही रकम जफत
केशवलाल श्रेष्ठ५ वर्ष४५,०००मूल बिगोको दामासाही कायम
रामकृष्ण पौडेल१ वर्ष१०,०००मूल बिगोको दामासाही कायम
हरिहरप्रसाद लामिछाने१ वर्ष१०,०००मूल बिगोको दामासाही कायम
दानहिरा तुलाधर१ वर्ष१०,०००मूल बिगोको दामासाही कायम
सिर्जना शाक्य तामाङ१ वर्ष१०,०००मूल बिगोको दामासाही कायम
लालकाजी गुरुङ१ वर्ष१०,०००रु. ६ करोड ९० लाख सावाँ-ब्याज भराउने
दुर्गाप्रसाद सङ्ग्रौला६ महिना५०,०००मूल बिगोको दामासाही कायम
जयन्द्रलाल / खेमनाथ / प्रवीणप्रसादजनही ६ महिनाजनही ५०,०००मूल बिगोको दामासाही कायम
मुकुन्दप्रसाद / नगेन्द्र / रामराज / हरिप्रसादजनही ६ महिनाजनही ५,०००मूल बिगोको दामासाही कायम
मीना गुरुङ५ महिना४,०००मूल बिगोको दामासाही कायम