09/10/2026, 21:07:09
बिहिबार, भदौ २५, २०८३

राजमार्ग अवरुद्ध हुँदा ग्यास आपूर्तिमा समस्या, केही दिनभित्रै स्थिति सामान्य हुने मन्त्रालयको दाबी


काठमाडौँ, भदौ २५ गते । मुख्य राजमार्गहरू अवरुद्ध भएका कारण काठमाडौँ उपत्यकामा मागअनुसार एलपी ग्यास आपूर्ति हुन नसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार भारतबाट पर्याप्त ग्यास नेपाल भित्रिए पनि यातायातको सहज पहुँच नहुँदा उपत्यकामा आपूर्तिमा ढिलाइ भएको हो। काठमाडौँमा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग रहेकामा हाल करिब २५ हजार सिलिन्डर मात्र भित्रिरहेको छ।

उपभोक्ताको सहजताका लागि मन्त्रालयले ‘Quick Response Team‘ मार्फत निरन्तर अनुगमन र गुनासो सम्बोधन गरिरहेको छ। ग्यास अभाव भएका क्षेत्रमा लोकेसन ट्रयाक गरी वितरणको व्यवस्था मिलाइएको छ भने समस्या परेमा ९८५१४५५१२८ ९८५१४५५१२४ मा सम्पर्क गर्न आग्रह गरिएको छ। बजारमा एउटा कम्पनीको ग्यास नपाइएमा अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साट्न सकिने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको छ।

यसैबीच, तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले व्यक्तिगत कारण देखाउँदै बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पदबाट राजीनामा दिनुभएको छ। मन्त्री यादवले राजीनामा दिनुअघि उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आयल निगम र ग्यास उद्योगीहरूलाई आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको थियो।

हाल नेपाल आयल निगम, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, मन्त्रालयका प्रतिनिधि तथा ललितपुर र भक्तपुरका फोकल पर्सनहरू सम्मिलित कमान्ड पोस्टले आपूर्ति व्यवस्था सहज बनाउन निरन्तर काम गरिरहेको छ। मन्त्रालयका अनुसार वैकल्पिक उपायहरूबारे पनि सोचिएकाले आगामी हप्ता/दश दिनभित्र उपत्यकामा ग्यास आपूर्ति पूर्ण रूपमा सामान्य हुनेछ।