तेहरान, भदौ १७ गते । इरानको इस्लामिक ‘रिभोलुसन गाड्र्स’ ले अमेरिकाले इरानका सैन्य लक्ष्यमाथि गरेको हमलाको जवाफमा कडा प्रतिकार सुरु गरिसकेको जनाएको छ। इरानी सैन्य नेतृत्वले अमेरिकाविरुद्ध ‘कुचल्ने र चकनाचुर पार्ने’ गरी कडा प्रहार गर्ने चेतावनी दिँदै आफ्नो वायु रक्षा प्रणालीले अमेरिकी मानवरहित विमान (ड्रोन) खसालेको र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधारहरूमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ।
मङ्गलबार अमेरिकी सेनाको मध्यपूर्व कमाण्डले होर्मुज जलडमरू मध्यमा व्यावसायिक पानीजहाज र आफ्ना सैनिकमाथि इरानले आक्रमणको प्रयास गरेको भन्दै इरानी सैन्य लक्ष्यहरूमाथि हवाई हमला सुरु गरेको घोषणा गरेको थियो। उक्त हमलापछि इरानका होर्मोजगान, सिस्तान तथा बलुचिस्तान, केरमान र बुशेहर प्रान्तका विभिन्न स्थानमा भीषण विस्फोटहरू भएका छन्।
इरानी पक्षका अनुसार दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित सिरिक जिल्लामा भइरहेको एक विवाह समारोहमा अमेरिकी आक्रमण पर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी मानिस घाइते भएका छन्। कुल ५४ जनाभन्दा बढी मानिस हताहत भएको यस हमलाको जवाफमा इरानको मुख्य सैन्य कमाण्डले आफ्ना सशस्त्र सेनाले निर्णायक र कडा कदम चालिसकेको स्पष्ट पारेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































