09/08/2026, 21:38:21
मङ्गलबार, भदौ २३, २०८३

सैनिकप्रति अनादर नगर्न र युद्धका बेला चुनाव नगराउन जेलेन्स्कीको आग्रह


किएभ, भदौ ७ गते । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण र ‘सुनामी‘ सरह हुने चेतावनी दिनुभएको छ।

पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभले चुनावको माग गरेपछि एएफपीलगायत सञ्चार माध्यमसँगको ब्रिफिङमा बोल्दै जेलेन्स्कीले युद्धका बेला चुनाव गराउँदा देश विभाजित भई ध्वस्त हुने खतरा औंल्याउनुभयो। युक्रेनमा ‘मार्शल ल‘ लागू भएकाले चुनाव स्थगित गरिएको छ भने सर्वेक्षण अनुसार केवल १५ प्रतिशत नागरिक मात्रै अहिल्यै चुनावको पक्षमा रहेका छन्।

ब्रिफिङका क्रममा जेलेन्स्कीले पूर्वरक्षामन्त्री फेडोरोभ गलत दिशातर्फ अघि बढेको भन्दै उहाँको आलोचना गर्नुभयो। नागरिकहरूलाई विरोध प्रदर्शन गर्ने अधिकार भए पनि रुसविरुद्ध लडिरहेका सैनिकहरूप्रति अनादरपूर्ण व्यवहार नगर्न उहाँले आग्रह गर्नुभयो।

सेना र समाजबिच विभाजन ल्याउने प्रयासले मुलुकलाई थप जोखिममा पार्ने भएकाले यस्ता गतिविधि रोक्नुपर्नेमा उहाँको जोड थियो।