08/16/2026, 20:19:26
आइतबार, साउन ३१, २०८३

गजेन्द्रनारायण सिंह अस्पताल १०० शय्यामा विस्तार हुने : मन्त्री निशा मेहता


राजविराज, साउन ३१ गते। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई तत्काल १०० शय्यामा विस्तार गरी विशेषज्ञ चिकित्सक र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ। अस्पतालको नवनिर्मित भवन भदौभित्रै हस्तान्तरण गराएर शीघ्र सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा ल्याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल र भारदहस्थित जिल्ला अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री मेहताले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चालु आर्थिक वर्षमा ५० करोड रुपियाँ बजेट विनियोजन गरिएको र प्रतिष्ठानसम्बन्धी ऐन निर्माणको काम पनि अघि बढेको जानकारी दिनुभयो। भविष्यमा अस्पताललाई ३०० शय्यासम्म विस्तार गर्ने योजना रहेको उहाँको भनाइ थियो।

सो अवसरमा स्थानीय सरोकारवालाहरूले अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव, स्वास्थ्य बीमाअन्तर्गतका औषधिको नियमित उपलब्धता र नवनिर्मित भवन हस्तान्तरण जस्ता समस्याबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए। विगतमा गरिएका प्रतिबद्धताहरू कमजोर हुने गरेकाले यस पटकको घोषणालाई व्यवहारमै कार्यान्वयन गर्न स्थानीयले माग गरेका छन्।