08/16/2026, 08:51:04
आइतबार, साउन ३१, २०८३

जनताको दैलोमा गृहमन्त्री गुरुङ : गोरखाका गाउँ-गोरेटोमा नागरिकसँग प्रत्यक्ष संवाद


सुलीकोट, साउन ३१ गते । सिंहदरबारका बाक्ला फाइल र प्रशासनिक बैठकको घेरा छाडेर गृहमन्त्री सुधन गुरुङ दुई दिनदेखि गोरखाको आरुघाट र भीमसेन थापा गाउँपालिकाका गाउँ-गोरेटो तथा मतदाताको आँगनमा पुग्नुभएको छ। गाउँका चौतारा र घरका आँगनमै बसेर उहाँले सडक, खानेपानी, विद्युत्, सुरक्षा, रासायनिक मल, विपत् व्यवस्थापन र सरकारी सेवामा भोग्नुपरेका नागरिकका गुनासा ध्यानपूर्वक सुन्दै प्रत्यक्ष संवाद गर्नुभएको छ।

गोरखामा बाढी-पहिरोले बाटो अवरुद्ध हुँदा भोग्नुपरेको सास्ती, सरकारी सेवा प्राप्तिका झन्झट र सुरक्षा चिन्तालाई प्राथामिकता दिँदै गृहमन्त्री गुरुङले विकासका चम्किला तथ्याङ्कभन्दा नागरिकका वास्तविक भोगाइलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ। स्थानीयवासीले पनि गृहमन्त्री आफैँ दैलोमा पुगेर गुनासो सुनेपछि समस्या समाधान हुनेमा नयाँ आशा जागेको अनुभूति गरेका छन्।

जनताको शासन जनताकै दैलोमा पुगेर सुन्दा मात्र त्यसको गहिरो अर्थ रहने स्पष्ट पार्दै गृहमन्त्री गुरुङले नागरिकका दैनिक समस्या पहिचान गरी सम्बन्धित निकायमार्फत तत्काल कार्यान्वयन र समाधानको पहल गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।