08/12/2026, 09:05:43
बुधबार, साउन २७, २०८३

म्यानपावर व्यवसायीको धर्ना, वैदेशिक रोजगारीका सबै काम ठप्प


काठमाडौँ, साउन २७ गते । सरकारले वैदेशिक रोजगारीका नाममा हुने ठगी र बेथिति नियन्त्रण गर्न कडाइ गरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ आन्दोलित बनेको छ ।

सङ्घले सोमबारदेखि वैदेशिक रोजगार विभागमा धर्ना दिँदै वैदेशिक रोजगारीसँग सम्बन्धित सबै काम ठप्प पारेको छ । तोकिएको भन्दा बढी शुल्क लिने म्यानपावर कम्पनीहरूलाई सरकारले बन्द गराउने जस्ता कारबाही तीव्र पारेपछि व्यवसायीहरू विरोधमा उत्रिएका हुन् ।

सरकारले २०७२ असार २५ गते ‘फ्री भिसा, फ्री टिकट‘ को व्यवस्था लागू गर्दै मलेसिया र खाडी मुलुक जाने श्रमिकका लागि अधिकतम १० हजार रुपियाँ मात्र सेवाशुल्क तोकेको थियो । तर, म्यानपावर कम्पनीहरूले १० हजार रुपियाँको रसिद थमाएर श्रमिकसँग साढे चार लाख रुपियाँसम्म असुल्दै आएका थिए । व्यवसायीहरूले यो व्यवस्था अव्यावहारिक रहेको भन्दै कम्तीमा श्रमिकको एकदेखि दुई महिनाको तलब बराबरको रकम सेवाशुल्कका रूपमा लिन पाउनुपर्ने अडान राख्दै आएका छन् ।

सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले सरकारले व्यवहारिक सुधार नगरी पुरानै कानुनका आधारमा एकतर्फी कारबाही मात्र गर्न खोजेको आरोप लगाउनुभएको छ । यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले व्यवसायीका मागहरूबारे मन्त्रालय जानकार रहेको भए पनि समाधानका लागि हालसम्म औपचारिक वार्ताको आह्वान भने नगरिएको जानकारी दिनुभएको छ ।