08/12/2026, 09:08:22
बुधबार, साउन २७, २०८३

भेडेटारको ‘स्काइवाक’मा पर्यटकको घुइँचो : दुई वर्षमा ३ लाख बढीले गरे अवलोकन

PHOTO CREDITS : Skywalk Bhedetar (skywalkbhedetar.com)
©PHOTO CREDITS : Skywalk Bhedetar (skywalkbhedetar.com)

धनकुटा, साउन २७ गते। धनकुटाको प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ बन्न पुगेको छ।

वन्डर्स अम्युजमेन्ट पाक्र्स एन्ड अट्राक्सन प्रा.लि.ले २०८१ साउनदेखि सञ्चालनमा ल्याएको यस स्काइवाकमा दुई वर्षको अवधिमा ३ लाख ९ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्। जसमध्ये करिब ३५ प्रतिशत पर्यटक छिमेकी मुलुक भारतका रहेका छन्। पारदर्शी सिसामाथि हिँड्दै साहसिक अनुभव लिन पाइने भएकाले यहाँ दैनिक सयौँको संख्यामा पर्यटक पुग्ने गरेका छन्।

PHOTO CREDITS : Skywalk Bhedetar (skywalkbhedetar.com)
PHOTO CREDITS : Skywalk Bhedetar (skywalkbhedetar.com)

समुद्री सतहबाट करिब १,४०० मिटरको उचाइमा रहेको यस स्काइवाकबाट सप्तकोशी नदी, तराईका हरियाली फाँट तथा सगरमाथा, मकालु र कञ्चनजङ्घा जस्ता हिमशृङ्खलाको मनोरम दृश्य स्पष्ट देख्न सकिन्छ। स्काइवाकसँगै हाल फ्री–फल जम्प र स्वीङ सञ्चालनमा रहेका छन् भने आगामी दिनमा स्काइ साइक्लिङ, जिपलाइन र बाल उद्यान थप्ने योजना आयोजकको छ। यो नयाँ गन्तव्यले भेडेटारको पर्यटनलाई थप उचाइ दिँदै स्थानीय होटल तथा व्यापार-व्यवसायलाई समेत निकै चलायमान बनाएको छ।

PHOTO CREDITS : Skywalk Bhedetar (skywalkbhedetar.com)
PHOTO CREDITS : Skywalk Bhedetar (skywalkbhedetar.com)

पर्यटकीय गतिविधि बढे पनि लगानीकर्ताहरूले भने कर नीतिको विषयमा चिन्ता व्यक्त गरेका छन्। गत वर्ष करिब ९ करोड रुपैयाँको कारोबार गर्दा रोयल्टी र मनोरञ्जन कर गरी ठूलो रकम बुझाउनुपरेको भन्दै सञ्चालकहरूले पिपिपी (PPP) मोडलका आयोजनालाई दिगो बनाउन लगानीमैत्री र व्यावहारिक कर नीति ल्याउन सरकारसँग माग गरेका छन्। कर नीतिमा पुनरावलोकन गरिए पर्यटन क्षेत्रमा नयाँ लगानी भित्रिने र दीर्घकालीन रूपमा राज्यको राजस्वसमेत वृद्धि हुने सञ्चालकहरूको भनाइ छ।