08/09/2026, 15:22:53
आइतबार, साउन २४, २०८३

मल लिन जाँदा ३८ दिन भारतीय हिरासतमा बसेका सर्लाहीका दाजुभाइ घर फर्किए, सीमामा कडाइले किसान त्रसित


सर्लाही, साउन २४ गते (सेतोप्रेस) – रासायनिक मल लिन जाँदा पक्राउ परेर ३८ दिनसम्म भारतीय प्रहरीको हिरासतमा बसेका सर्लाहीका दुई जना किसानले आफूहरू बाध्यतावश भारत पुगेको बताउनुभएको छ।

नेपालमा अनुदानको मल अपुग भएपछि भारतीय मल लिन जाँदा सर्लाहीको सीमावर्ती बलरा नगरपालिका–५, अर्नाहा स्थायी घर भई मलङ्गवा नगरपालिका–१० मा बसोबास गर्दै आएका ६४ वर्षीय नागेन्द्रप्रसाद सिंह र उहाँका भाइ ६२ वर्षीय सुरेशप्रसाद सिंह पक्राउ पर्नुभएको थियो। उहाँहरू सीतामढी व्यवहार अदालतको आदेश अनुसार १०/१० हजार भारतीय रुपियाँ धरौटी बुझाएर हिरासतमुक्त भई शुक्रबार साँझ घर फर्किनुभएको हो।

खेतीपातीमै व्यस्त दाइ, मलङ्गवामै भाइ
नेपाल आएपछि दाइ नागेन्द्रप्रसाद खेतीपातीका लागि शनिबार बिहानै बलरास्थित गाउँको घर जानुभएको छ भने भाइ सुरेशप्रसाद सिंह मलङ्गवाको घरमै आराम गरिरहनुभएको छ।

के हो त घटना?
गत असार १७ गते भारतको सोनवर्षाबाट साइकलमा एक÷एक बोरा युरिया मल लिएर आउँदा आफूहरूलाई भारतीय सीमासुरक्षा बल (एसएसबी) को घुमुवाले पक्राउ गरी डुमरा थानामा लगेको सुरेशप्रसादले बताउनुभयो।

“हामी किसान हौँ, धान खेतीका लागि एक बोरा मल लिन आएको भन्दा पनि एसएसबीका घुमुवाले लछारपछार पारेर थुनामा लगे,” उहाँले भन्नुभयो। तस्करी भन्दै ३८ दिनसम्म हिरासतमा राखिएको उहाँको भनाइ छ।

मुद्दामा थपियो झुटो आरोप
आफूहरूले दुई बोरा मल मात्र ल्याएको भए पनि पछि मुद्दा चलाउने बेला अरू छ बोरा डिएपी (DAP) मलसमेत थप गरेर देखाउने काम गरिएको सुरेशप्रसादले दुःखेसो पोख्नुभयो।

उहाँले भन्नुभयो, “रोपाइँ गर्न यहाँ मल नपाएपछि दाजुभाइ मिलेर सोनवर्षा गएका थियौँ, मल लिएर फर्कंदै गर्दा एक्कासि एसएसबीको घुमुवाले पक्राउ गरेर डुमरा थानाको जिम्मा लगाइदिए।”

आफूहरूलाई एक/एक महिनामा तारिख बुझ्न भारत जानुपर्ने सुरेशप्रसादले बताउनुभएको छ।

सीमावर्ती किसानमा त्रास
यो घटनाले सीमावर्ती क्षेत्रका किसान त्रसित बनेका छन्। बलरा नगरपालिका निवासी तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहका अनुसार नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल पर्याप्त नहुँदा सीमावर्ती क्षेत्रका धेरै किसान मल लिन लुकीछिपी भारतीय बजार पुगिरहेका छन्।

सीमामा कडाइ गरिएकाले मल ल्याउने क्रममा सिंह दाजुभाइ जसरी नै पक्राउ पर्ने हो कि भन्ने डर अन्य किसानमा समेत रहेको सभापति सिंहले बताउनुभयो।

पाठकको मत
के नेपाल सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसक्दा किसानहरूले यस्तो सास्ती खेप्नु परेको हो?
🔘 हो, सरकार र सम्बन्धित निकाय पूर्ण रूपमा असफल भए।
🔘 होइन, यो सीमा सुरक्षाको विषय हो, किसानले नियम उल्लङ्घन गर्नु हुँदैनथ्यो।
(कमेन्ट बक्समा आफ्नो विचार अवश्य लेख्नुहोस्!)