

काठमाडौँ, साउन २० गते । काठमाडौँका साँघुरा गल्लीमा बज्ने जात्राका धुन र मादलको गुञ्जनलाई क्यानभासमा उतारिएको छ। कलाकार प्रदीपकुमार वज्राचार्यको एकल चित्रकला प्रदर्शनी ‘उत्सव : इन दी रिदम अफ जात्रा’ यतिबेला दरबारमार्गस्थित ग्यालरी १०८ मा सजिएको छ। उपत्यकाको संस्कृति र उत्सवको परिवेशमा हुर्कनुभएका वज्राचार्यले कलामार्फत जात्राको मर्म, धिमे बाजाको आवाज, भक्तजनको श्रद्धा र सडकको ऊर्जालाई जीवन्त रूपमा प्रस्तुत गर्नुभएको छ।


प्रदर्शनीमा काठमाडौँ, पाटन र भक्तपुरमा मनाइने मत्स्येन्द्रनाथ जात्रा, भोटो जात्रा, सिन्दुरे जात्रा लगायतका प्राचीन उत्सवहरूबाट प्रेरित ९० वटा चित्रहरू राखिएका छन्। मानिसको भिडभाड, हल्लिँदै अघि बढ्ने खट र सिन्दूरले रङ्गिएका भक्तजनका दृश्यहरूलाई एक्रेलिक क्यानभासमार्फत अभिव्यक्त गरिएको छ। अवलोकनकर्तालाई प्रत्यक्ष जात्रामै पुगेको जस्तो अनुभूति दिलाउन सबै चित्रहरू एउटै खास ढाँचा (Pattern) मा तयार पारिएको छ।
हाम्रो मौलिक कला र संस्कृतिको जर्गेना गर्दै नयाँ पुस्तालाई यसबारे बुझाउनु यस प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ। जात्राको निरन्तरता र प्रभावकारितालाई दर्शाउन ‘उत्सव’ नाम दिइएको यो प्रदर्शनी भदौ ७ गतेसम्म सञ्चालन हुनेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































