08/02/2026, 17:17:29
आइतबार, साउन १७, २०८३

पर्वतारोही पुर्जाको निधनले म्याग्दी शोकमा, सोमबार शोक बिदा


म्याग्दी, साउन १७ गते। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’को पाकिस्तानस्थित ब्रोड पिकमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी शोकमा डुबेको छ।

अन्नपूर्ण गाउँपालिकाले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सोमबार अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा शोक बिदा दिएको छ।

विज्ञप्तिमा भनिएको छ, “उहाँको असामयिक निधनले नेपाललाई मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको छ। उहाँलाई हामी सधैँ स्मरण र उच्च सम्मान गर्ने छौँ।” दुःखी घडीमा गाउँ कार्यपालिकाको कार्यालयले शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा दिवङ्गत आरोहीका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ।

सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल छ महिना छ दिनमा आरोहण गर्दै विश्वकीर्तिमान कायम गर्नुभएका ४३ वर्षीय पुर्जाको निधनलाई गाउँपालिकाले नेपाल र विश्व पर्वतारोहण समुदायका लागि अपूरणीय क्षति भएको जनाएको छ।