

वीरगञ्ज, साउन १२ गते । वीरगञ्जस्थित नारायणी अस्पतालका ६८ जना सरकारी चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ६८ जना चिकित्सकहरूले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।
गत साउन ८ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण र अस्पतालमा तोडफोड भएको थियो। घाइते डा. रामको हाल काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
उक्त आक्रमणको घट्नापछि चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा ठप्प पारी आन्दोलन गर्दै आएका थिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि तयार भएका थिए।
चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि अस्पतालका चिकित्सकहरू जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका लागि पुगेका थिए। तर, वार्ताका क्रममा वातावरण झन् तनावपूर्ण बनेको डा. सिंहले जानकारी दिनुभयो।
नेपाल चिकित्सक सङ्घका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने धारणा राखेपछि प्रमुख जिल्ला अधिकारी आक्रोशित हुनुभएको थियो।
डा. सिंहका अनुसार त्यसपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले चिकित्सकप्रति अपशब्द प्रयोग गर्दै नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका थिए। वार्ताबाट बाहिर निस्किने क्रममा प्रहरीले घेरा हालेर चिकित्सकहरूलाई करिब एक घण्टा नियन्त्रणमा राखी अपराधीसरह व्यवहार गरेको उहाँको आरोप छ।
प्रशासनको यस्तो दुर्व्यवहारपछि यस्तो वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुग्दै सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्।
यसैबीच नारायणी अस्पतालमा भएको घट्ना र चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक सङ्घले मङ्गलबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































