काठमाडौँ, जेठ २८ गते । फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि सङ्घसंस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षा खलल हुनसक्ने भएकाले अनुमति नलिइ खेल प्रदर्शनी गर्न रोक लगाइएको जानकारी दिनुभयो । उहाँले पूर्व-स्वीकृति नलिइ रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्तिसुरक्षा खलबल्याउने गतिविधि नगर्न-नगराउन सबैलाई अनुरोध गर्नुभएको छ ।


खेलको प्रत्यक्ष प्रसारण गर्न स्वीकृतिका लागि निर्धारित निवेदनको ढाँचा कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने भएकाले उक्त निवेदनमा उल्लेखित शर्तहरुको अधिनमा रही सङ्घसंस्था वा कम्पनी रहेको स्थान तथा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी अनुमति दिइने जनाइएको छ ।
काठमाडौँ प्रशासनले आजै एक सूचना जारी गरी सूचनाको अवज्ञा गरी कोहीकसैले यस कार्यालयको स्वीकृति बेगर आज रातिदेखि हुने फिफा विश्वकप फुटबल २०२६ को प्रत्यक्ष प्रसारणका नाममा भीडभाड गर्ने तथा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेको सूचना प्राप्त भए कानुनबमोजिम कारबाही हुने जानकारी दिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































