

काठमाडौँ, जेठ २७ गते । नेपालमा नेत्रदानप्रति जनचेतना बढ्दै गएसँगै दृष्टिविहीन व्यक्तिलाई पुनः दृष्टि प्रदान गर्ने कार्यमा प्रगति हुँदै गएको छ । प्रत्यारोपणका लागि आवश्यक कर्नियाको अभाव, दाताको परिवारबाट सहमति प्राप्त गर्नुपर्ने अवस्था तथा सामाजिक–सांस्कृतिक मान्यता जस्ता कारणले भने नेत्रदान अभियानले अपेक्षित गति लिन सकेको छैन ।
नेपाल आँखा बैङ्कका प्रमुख शङ्खनारायण त्वानाका अनुसार हालसम्म देशभर करिब एक लाख व्यक्तिले मरणोपरान्त नेत्रदान गर्ने घोषणा गरिसकेका छन् । घोषणा गरेका सबै व्यक्तिबाट मृत्युपश्चात् कर्निया प्राप्त हुन नसक्ने अवस्था रहेको छ । आँखादान गर्नेहरूलाई फोन गरेर तपाईं मर्नुभयो कि भएन भनेर सोध्न नसकिने भन्दै उहाँले कतैबाट खबर आयो भने मात्र आँखाको नानी निकाल्न जाने गरेको बताउनुभयो ।
नेपाल आँखा बैङ्कका अनुसार नेपालमा प्रत्येक वर्ष करिब एक हजार छ सय जना मृतकबाट कर्निया सङ्कलन गरिन्छ । तीमध्ये करिब एक हजार पाँच सय कर्निया प्रत्यारोपणमा प्रयोग हुने गरेका छन् । सङ्कलित कर्नियामध्ये ठुलो हिस्सा दृष्टिविहीन व्यक्तिलाई पुनः दृष्टि दिलाउन प्रयोग हुँदै आएको छ । नेत्रदान गर्ने व्यक्तिको सङ्ख्या बढ्दै गएको छ तर मृत्यु भएपछि परिवारले सहमति नदिने, समयमा सूचना नपुग्ने तथा धार्मिक वा परम्परागत सोचका कारण कतिपय अवस्थामा कर्निया सङ्कलन गर्न कठिन हुने गरेको उहाँको भनाइ छ ।
नेपाल आँखा बैङ्कले आर्यघाट, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, विभिन्न सरकारी तथा निजी अस्पताल र नेत्र उपचार केन्द्रसँग समन्वय गरी कर्निया सङ्कलन गर्दै आएको छ । मृत्यु भएको केही घण्टाभित्र कर्निया सुरक्षित रूपमा निकाल्न सकिएमा मात्रै प्रत्यारोपणका लागि उपयोग गर्न सकिने भएकाले समयमै सूचना प्राप्त हुनु अत्यन्त महत्वपूर्ण मानिन्छ । सङ्कलित कर्नियामध्ये करिब एक तिहाइ तिलगङ्गा आँखा प्रतिष्ठानमै प्रत्यारोपण गरिन्छ । बाँकी कर्निया मेची आँखा अस्पताल झापा, हिमालय आँखा अस्पताल पोखरा तथा देशका अन्य प्रमुख नेत्र उपचार केन्द्रमा पठाइने गरिएको छ ।
नेपालमा कर्नियासम्बन्धी समस्याका कारण दृष्टिविहीन हुने व्यक्तिको सङ्ख्या बढिरहेको छ । सङ्क्रमण, चोटपटक, जन्मजात समस्या तथा अन्य कारणले कर्निया क्षतिग्रस्त हुँदा दृष्टि गुम्ने अवस्था आउँछ । यस्तो अवस्थामा कर्निया प्रत्यारोपण नै प्रभावकारी उपचार मानिन्छ ।
नेपाल नेत्रज्योति सङ्घका कार्यकारी अध्यक्ष डा. शैलेसकुमार मिश्रका अनुसार एक जना व्यक्तिको नेत्रदानबाट दुई जनासम्मलाई दृष्टि प्रदान गर्न सकिन्छ । नेत्रदानका क्रममा सम्पूर्ण आँखा प्रत्यारोपण गरिने नभई आँखाको सबैभन्दा बाहिरी पारदर्शी भाग कर्निया मात्रै निकालिने भएकाले मृतकको अनुहार वा शारीरिक स्वरूपमा कुनै असर पर्दैन । आँखा निकाल्दा रगतसमेत निकालिन्छ । रगत निकालेपछि अन्य रोग लागेको रहेछ भने त्यो आँखा प्रत्यारोपण गरिँदैन । उहाँले नेपालमा नेत्रदान अभियानलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
विशेष गरी ग्रामीण क्षेत्रमा नेत्रदानसम्बन्धी जानकारीको कमी, परिवारलाई पूर्वजानकारी नदिनु, मृत्यु भएपछि तत्काल सम्पर्क नहुनु तथा धार्मिक र सामाजिक भ्रमका कारण धेरै सम्भावित दाताबाट कर्निया प्राप्त हुन सकेको छैन । उहाँले नेत्रदानसम्बन्धी जनचेतना अझ विस्तार गर्न सकिए कर्नियाको अभाव कम हुने र प्रत्यारोपणको प्रतीक्षामा रहेका धेरै दृष्टिविहीन व्यक्तिले नयाँ जीवन पाउन सक्ने बताउनुभयो ।
यसैबिच विश्व नेत्रदान दिवसका अवसरमा नेत्रदानलाई मानव सेवाको सर्वोच्च उदाहरणका रूपमा ग्रहण गर्दै मृत्युपश्चात् पनि अरूको जीवनमा उज्यालो दिन सकिने सन्देश समाजमा फैलाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ । मृत्युपछि पनि कसैको जीवनमा प्रकाश भर्न सकिन्छ भन्ने भावना विस्तार गर्न सकिए नेत्रदान अभियानले अझ व्यापक स्वरूप लिने विश्वास गरिएको छ ।
तेरापंथ युवक परिषद्ले आफ्नो रजत जयन्ती वर्षका अवसरमा सञ्चालन गरिरहेको ‘बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान’ भन्ने अभियानमार्फत नेत्रदानलाई सामाजिक अभियानका रूपमा विस्तार गर्ने प्रयास गरिरहेको छ ।
परिषद्का अध्यक्ष निश्चल लालबानीले काठमाडौँमा अभियानमार्फत हालसम्म १३ जना व्यक्तिले मरणोपरान्त नेत्रदान गरेको जानकारी दिनुभयो । यस्तै देशभरका विभिन्न तेरापंथ युवक परिषद्मार्फत पनि ३० भन्दा बढी व्यक्तिले नेत्रदान गरिसकेका छन् । अध्यक्ष लालबानीले नेत्रदानलाई मानव सेवाको उच्चतम उदाहरणका रूपमा व्याख्या गर्दै मृत्युपछि पनि कसैको जीवनमा उज्यालो दिन सकिने भएकाले नेत्रदान अभियानलाई जनआन्दोलनका रूपमा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
परिषद्ले नियमित रूपमा जनचेतनामूलक कार्यक्रम, परामर्श तथा प्रतिज्ञा सङ्कलन अभियान सञ्चालन गरिरहेको छ । नेपालमा कर्नियासम्बन्धी अन्धोपन मोतीविन्दुपछिको दृष्टि गुम्ने प्रमुख कारणमध्ये एक मानिन्छ । कर्निया धमिलो वा क्षतिग्रस्त भएपछि दृष्टि पुनः प्राप्त गर्ने प्रभावकारी उपाय कर्निया प्रत्यारोपण नै हो । यही कारणले नेत्रदानलाई दृष्टिविहीन व्यक्तिको जीवनमा उज्यालो फर्काउने मानवीय कार्यका रूपमा लिने गरिएको छ ।
यसैबिच बुधबार विश्व नेत्रदान दिवस मनाइँदै छ । नेपालमा विभिन्न सङ्घ संस्थाले नेत्रदान दिवस मनाउँदै छन् ।
– सरोज ढुङ्गेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































