07/11/2026, 22:43:26
शनिबार, असार २७, २०८३

वीरता र पर्यटनको प्रतीक ‘लुहारेकोट’


कालीकोट, जेठ २७ गते । जिल्लाको ऐतिहासिक तथा पर्यटकीय स्थल लुहारेकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । अग्लो डाँडामा निर्माण गरिएको वीर योद्धाको प्रतिमा, प्राकृतिक सुन्दरता र वरपर फैलिएका मनोरम हिमाली तथा पहाडी दृश्यले लहारेकोटलाई कालीकोटको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सुनमा सुगन्ध थप्ने काम गरिरहेका छन् ।

लुहारेकोट क्षेत्र ऐतिहासिक वीरता र साहसको प्रतीक मानिन्छ । यहाँ स्थापना गरिएको विशाल प्रतिमाले तत्कालीन योद्धाहरूको सङ्घर्ष, त्याग र स्वाभिमान झल्काउने गर्छ । सदरमुकाम को सिरानीमा निर्माण गरिएको प्रतिमासहितको संरचनाले स्थानीय इतिहास र संस्कृतिको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ ।

लहारेकोट पुग्ने जोकोही पर्यटकले यहाँबाट देखिने हराभरा पहाड, गहिरा खोँच, सुन्दर बस्ती र मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सक्छन् । विशेष गरी बिहान र साँझको समयमा यहाँबाट देखिने दृश्यले पर्यटकलाई लोभ्याउने गरेको स्थानीयवासी बताउँछन ।

सामाजिक अभियन्ता बाले विश्वकर्माले सदरमुकाम मान्ममा अवस्थित लुकारेकोट दरबार क्षेत्र हाम्रो इतिहास, पहिचान र सांस्कृतिक सम्पदाको अमूल्य धरोहर भएकाले नगरपालिकामार्फत यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै उचित प्रचारप्रसार गर्न अतिनै आवश्यक रहेको बताउनुभयो । इतिहास बोकेको यस क्षेत्रलाई अहिले लभ पार्क जस्ता असान्दर्भिक नामकरण गरे पनि यसको मौलिक पहिचान, सम्पदाको गरिमा र पहिचान जोगाउन सबैको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।

नगर उपप्रमुख गणेशबहादुर शाहीका अनुसार स्थानीय सरकारले लुहारेकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएको छ । इतिहासको रक्षा, विकास र प्रचारका लागि नगरपालिकाले सानै भए पनि विभिन्न हतियार बनाउने लुहारको प्रतिमा बनाएर यस क्षेत्रको पहिचान दिन खोजेको छ । सडक पहुँच, खानेपानी, विश्रामस्थल तथा अन्य पूर्वाधार विस्तारका लागि पनि नगरपालिकाले काम गरिरहेको उपप्रमुख शाहीको भनाइ छ । यस क्षेत्रले पर्यटन प्रवर्धनमार्फत स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

कालीकोटको गौरवका रूपमा परिचित लुकारेकोटले इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यलाई एकै स्थानमा समेटेको छ । यसले कालीकोटको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप उजागर गर्ने विश्वास गरिएको छ ।