06/13/2026, 22:07:53
शनिबार, जेठ ३०, २०८३

भारतीय नागरिकलाई नागरिकता बनाउनका लागि सहयोग गरेको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ


घोराही, जेठ २७ गते । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउनका लागि सहयोग गरेको आरोपमा दाङमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउनका लागि गैरकानुनी रूपमा कागजात प्रदान गरेको भन्दै प्रहरीले यहाँको राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिरसहित वडा सचिव कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका–९ निवासी राजेशकुमार कहर, राजपुर–४ निवासी कार्यालय सहायक मीना चौधरी र नागरिकता प्राप्त गर्ने ४५ वर्षीय भारतीय नागरिक आलम जोल्दालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले पक्राउ परेका चार जनालाई सोमबार जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गरी थुनामा राखेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरी निरीक्षक बमका अनुसार पक्राउ परेका चार जनासहित नागरिकतामा हस्ताक्षर गरेका इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख प्रेमबहादुर खवास र भारतीय नागरिक आयसा जोल्दाकाविरुद्ध प्रहरीले जेठ २० गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

चार जना पक्राउ परे पनि तत्कालीन कार्यालय प्रमुख खवास र भारतमा बिहे भएकी आयसा जोल्दा भने पक्राउ परेका छैनन् । प्रहरी निरीक्षक बमका अनुसार उनीहरूको पनि खोजी भइरहेको छ । पक्राउ परेका वडाध्यक्ष अहिर लगायतलाई भारतीय नागरिक आलम जोल्दालाई वंशजका आधारमा नागरिकता प्राप्त गर्न वडा कार्यालयबाट कागजात बनाउन भूमिका खेलेको आरोप छ । जोल्दाले २०७५ कात्तिक २८ गते इलाका प्रशासन कार्यालय लमहीबाट बुवा सुनाउल्ला जोल्दाको नामबाट वंशजका आधारमा नागरिकता प्राप्त गरेका थिए ।

जोल्दाले प्राप्त गरेको नागरिकतामा तत्कालीन इलाका प्रशासन कार्यालय प्रमुख प्रेमबहादुर खवासको हस्ताक्षर रहेको छ । गैरकानुनी रूपमा भारतीय नागरिकले नेपाली नागरिकता प्राप्त गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले नेपाल प्रहरीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।