06/09/2026, 22:19:31
मङ्गलबार, जेठ २६, २०८३

गृहमन्त्री सुधन गुरुङद्वारा पदभार ग्रहण : दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय


काठमाडौँ, जेठ २६ गते । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ। पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले आफ्नो कार्यकालमा पुराना र चर्चित काण्डको फाइल खोलेर अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयएको छ।

गृहमन्त्री गुरुङले वि.सं. २०५८ सालमा भएको चर्चित दरबार हत्याकाण्डको फाइल पुनः खोलेर छानबिन प्रक्रिया अगाडि बढाउने पहिलो महत्त्वपूर्ण निर्णय गर्नुभएको छ। यसका साथै उहाँले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझ बढी बलियो र साधनस्रोत सम्पन्न बनाउने तथा हाल छानबिनका क्रममा रहेका सबै अनुसन्धान प्रक्रियालाई छिटो टुङ्गोमा पुर्‍याउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ।

मन्त्रालयको पदभार सम्हाल्दै मन्त्री गुरुङले पछिल्लो समय ‘जेन-जी’ आन्दोलनका क्रममा लागेका फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा आवश्यक अध्ययन अगाडि बढाउनेसमेत बताउनुभयो।

आफूविरुद्ध लागेको आरोपबारेको प्रश्नमाथि टिप्पणी गर्दै गृहमन्त्री गुरुङले भन्नुभयो, “ममाथि तथ्यहीन रूपमा आरोप लगाइएको छ। आफूमाथि जस्तोसुकै आरोप लगाए पनि म त्यो थेग्न सक्छु, तर नेपाली चेलीबेटीलाई दुःख दिएको र उनीहरूमाथि अन्याय भएको म कदापि सहन सक्दिनँ।

उहाँले सञ्चारमाध्यम तर्फ सङ्केत गर्दै भन्नुभयो, “मिडिया ट्रायलकै कारण मात्र कुनै पनि व्यक्तिले दबाबमा परेर आत्महत्या गर्ने स्थिति नबनोस् भन्नेमा सबै सचेत हुनुपर्छ।” गृह प्रशासनलाई पारदर्शी, जबाफदेही र नागरिकमैत्री बनाउन आफू लागिपर्ने धारणा उहाँले राख्नुभयो।