05/29/2026, 21:47:23
शुक्रबार, जेठ १५, २०८३

काठमाडौँमा देशकै पहिलो एआई कम्प्युट केन्द्र स्थापना हुने


काठमाडौँ, जेठ १५ गते । सरकारले काठमाडौँको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई (आर्टिफिसियल इन्टेलिजेन्स) कम्प्युट केन्द्र स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको हो । नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) को युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरिएको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।

बजेट भाषणका क्रममा उहाँले भन्नुभयो, “नेपाललाई एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरिएको छ । यसै अनुरूप काठमाडौँको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गरिने छ । हजारौँ एआई प्रोसेसिङ युनिट (एपीयूँ) खरिद गरी एआई उद्यमी र स्टार्ट–अपहरूलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइने छ ।

सरकारले यो प्रविधिमार्फत नेपाली युवा उद्यमी र प्रविधि क्षेत्रका नवप्रवर्तनकारी कार्य (स्टार्ट–अप) लाई प्रोत्साहन गर्ने रणनीति बजेटमार्फत अघि सारेको हो ।