

विराटनगर, जेठ १५ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ठुलो संघर्षबाट प्राप्त राजनीतिक परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ एवम् संस्थागत बनाउनु आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा शुक्रबार प्रदेश राजधानी विराटनगरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । समारोहअघि विराटनगरमा प्रभातफेरी निकालिएको थियो भने वीरेन्द्र सभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्कने आकर्षक झाँकीहरू प्रस्तुत गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनताको लामो बलिदान र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनले ल्याएको यो परिवर्तनले देशलाई लोकतान्त्रिक अभ्यास र समावेशी शासन प्रणालीतर्फ डोहोर्याएको उल्लेख गर्नुभयो । “जहानियाँ राणाशासन र निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भई सङ्घीय गणतन्त्र स्थापना हुनु आफैँमा ठूलो उपलब्धि हो,’’ उहाँले भन्नुभयो, “यसले विकास, पूर्वाधार, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सकारात्मक गति दिएको छ ।’’


पछिल्लो समय लोकप्रियतावादका नाममा लोकतन्त्र र संस्थामाथि अविश्वास फैलाउने प्रयास भइरहेको प्रति सचेत रहन आग्रह गर्दै उहाँले गणतन्त्रलाई अझ बढी उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले नागरिकका अपेक्षा पूरा गर्न सुशासन र प्रभावकारी सेवा प्रवाहमा प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
समारोहमा प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभामुख अम्बरबहादुर विष्ट लगायत प्रदेशका उच्च पदस्थ व्यक्तित्वहरू, सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्त्रीले गणतन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण प्रदेशवासीमा शुभकामना व्यक्त गर्नुभयो ।
– शशिधर पराजुली
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































