05/29/2026, 21:46:18
शुक्रबार, जेठ १५, २०८३
गणतन्त्र दिवस २०८३

गणतन्त्र दिवस राष्ट्र निर्माणको महान प्रेरणा : राष्ट्रपति पौडेल


काठमाडौँ, जेठ १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो राष्ट्र निर्माणका लागि महान प्रेरणा तथा अभिभारा भएको बताउनुभएको छ ।

१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर दिएको उल्लेख गर्नुभयो । उहाँले गणतन्त्रले देशवासीलाई जोड्दै साझा राष्ट्र निर्माणको संकल्पतर्फ प्रेरित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ । यसले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर दिएको छ । यसले देशवासीलाई जोडेर साझा राष्ट्र बनाउने संकल्पतर्फ प्रेरित गरेको छ । त्यसैले यो राष्ट्र निर्माणको महान प्रेरणा र अभिभारा हो ।

राष्ट्रपति पौडेलले गणतन्त्रको मर्यादा रक्षा गर्दै यसलाई सुदृढ बनाउन सबै राजनीतिक दल, नेतृत्व र नागरिक एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । गणतन्त्र केवल व्यवस्था मात्र नभई आचरणयुक्त राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति भएको उहाँको भनाइ थियो ।

उहाँले राजनीतिक तथा शासकीय अभ्यासलाई नैतिकता, निष्ठा र मूल्य–मान्यतामा आधारित बनाउनुपर्ने उल्लेख गर्नुभयो । ढिलासुस्ती, अनियमितता र बेथिति लोकतान्त्रिक गणतन्त्रका प्रमुख चुनौती भएको बताउँदै उहाँले नागरिकको जीवनमा आशा र विश्वास जगाउनु राज्यको दायित्व भएको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई व्यवहारमा पुष्टि गर्न शासकीय चरित्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै सुशासन, विकास र समृद्धिका माध्यमबाट मात्र गणतन्त्रको लक्ष्य पूरा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जबसम्म नागरिकको जीवनमा आशाको दियो बल्दैन, तबसम्म गणतन्त्रको लक्ष्य पूरा हुँदैन । नागरिकले सुशासन र समृद्धि चाहेका छन् । त्यसका लागि स्रोतको उच्चतम उपयोग आवश्यक छ ।

उहाँले कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रको सुदृढीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले गणतन्त्रलाई विश्वकै उत्कृष्ट शासन व्यवस्था भन्दै नागरिक सर्वोच्चताको अभ्यासले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुगेको बताउनुभयो । संघीयता, समावेशिता र सामाजिक न्यायले यस व्यवस्थालाई थप सुदृढ बनाएको उहाँको भनाइ थियो । उहाँले गणतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका योद्धाप्रति सम्मान व्यक्त गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।