05/26/2026, 18:44:17
मङ्गलबार, जेठ १२, २०८३

युरोप पठाउने भनी झण्डै दुई करोड ठगी गर्ने पक्राउ


काठमाडौँ, जेठ १२ गते । युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार स्थायी ठेगाना मकवानपुरको कैलाश गाउँपालिका वडा नंं १० का लामा हाल काठमाडौँ टोखा नगरपालिका वडा नं ११ बस्दै आएका छन् ।

यसैगरी, क्यानडा पठाउने भनी पाँच लाख ३२ हजार रुपियाँ ठगी गर्ने ३९ वर्षीय खड्कध्वज शाही पक्राउ परेका छन् । स्थायी ठेगाना दैलेखको गुरास गाउँपालिका वडा नंं ३ का शाही हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका वडा नंं ३ बस्दै आएका छन् ।

उनीहरुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी सम्पर्कविहिन भएका थिए । उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।