05/26/2026, 18:41:09
मङ्गलबार, जेठ १२, २०८३

पहिरो खसेपछि ‘बेनी-जोमसोम सडकखण्ड’ अवरूद्ध


म्याग्दी, जेठ १२ गते । पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । मंगलबार दिउँसो परेको वर्षाका कारण कालिगण्डकी कोरिडोर सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका २ मा पर्ने सिरूवारीमा सडक माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परेर ४ वटा सवारीसाधन पहिरोमा फसेका छन् । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेकाले तत्काल पहिरो पन्छाउन कठिनाइ भइरहेको छ।

घटनापछि अस्थायी प्रहरी पोष्ट तिप्ल्याङबाट प्रहरी हवल्दार बिनोद कुमार चौहानको कमाण्डमा २ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको उहाँले बताउनुभयो ।

– ठाकुर प्रसाद आचार्य