

काठमाडौँ, जेठ ११ गते । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षण पेसामा लागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व), विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ बस्ने शिक्षक कृष्णबहादुर खन्ना विरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार खन्नाले नक्कली प्रमाणपत्र पेस गरी जागिर खाइरहेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा निजले झुट्टा विवरण बुझाएको पुष्टि भएको हो।
खन्नाले नवलपरासीकै श्री भवानी माध्यमिक विद्यालयमा मिति २०५९/०८/०१ देखि लागू हुने गरी अस्थायी प्राथमिक तहको शिक्षकको ओहोदा पाउन तथा मिति २०७५/१२/२९ देखि सोही विद्यालयमा प्रा.वि. तहको स्थायी शिक्षकमा नियुक्तिका लागि भारतीय बोर्डको झुट्टा प्रमाणपत्र पेस गर्नुभएको अख्तियारले जनाएको छ। उहाँले भारतको ‘नागाल्यान्ड बोर्ड अफ स्कुल एजुकेसन, कोहिमा’ बाट जारी भएको भनिएको नक्कली प्रवेशपत्र, लब्धाङ्क पत्र र स्थानान्तरण प्रमाणपत्र बुझाएर नियुक्ति लिनुभएको अनुसन्धानबाट खुलेको छ।
हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित मणिसङ्गम माध्यमिक विद्यालयमा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत रही ओहोदा, लाभ र सुविधा समेत प्राप्त गर्नुभएका खन्नाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको अख्तियारको दाबी छ।
अख्तियारले खन्नालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































