05/25/2026, 09:18:29
सोमबार, जेठ ११, २०८३
नेपाली श्रम बजार

युरोपतर्फ मोडियो ‘नेपाली श्रम बजार’


काठमाडौँ, जेठ ११ गते । खाडी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ । आकर्षक तलब, श्रमिकमैत्री कानुन र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको हो । वैदेशिक रोजगार विभागका अनुसार नेपाली रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस लगायतका देशमा बढी जाने गरेका छन् ।

विभागका अनुसार आवमा २०८२/८३ को १० महिनामा युरोपका छ वटा देशमा जान ६० हजार ४३९ जनाले श्रम स्वीकृति लिएका छन् । गत आव २०८१/८२ को १० महिनामा युरोपका रोमानिया, क्रोएसिया, पोर्चुगल, साइप्रस, माल्टा लगायतका देशमा जान ४५ हजार २७३ जनाले श्रम स्वीकृति लिएका थिए ।

चालु आवमा युरोपको यस अवधिमा रोमानियामा २८ हजार ५९४ जना, क्रोएसिया १४ हजार, पोर्चुगल सात हजार ३४८ जना, माल्टा पाँच हजार २३९, साइप्रस छ हजार ५३९ जना, माल्टा अस्ट्रियामा एक हजार सात सय जना गएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जाने बढेसँगै युरोप जानेको सङ्ख्या पनि बढेको बताउनुभयो । युरोपमा खाडीको तुलनामा काम र कमाइका हिसाबले आकर्षण हुने भएकाले पढेलेखेका युवा युरोप जाने गरेका उहाँको बुझाइ छ ।

युरोप रोजगारीमा जाने अधिकांश युवा व्यक्तिगत भिसामा जाने गरेका छन् । युरोपका चार देशमा गएका श्रमिकको सङ्ख्या हेर्दा संस्थागतभन्दा व्यक्तिगत रूपमा जानेको सङ्ख्या उच्च छ । विभागका अनुसार पछिल्लो १० महिनामा युरोपका चार/पाँच देशमा ६० हजार ४३९ जना गएकोमा व्यक्तिगत रूपमा जाने ५७ हजार ९४८ र संस्थागत रूपमा जाने दुई हजार ४५१ जना मात्रै छन् ।

पहिलो आकर्षण रोमानियामा

नेपाली युवाका लागि रोमानिया पहिलो आकर्षण गन्तव्य बनेको छ । विभागका अनुसार चालु आवको १० महिनामा २८ हजार ५९४ जना श्रम स्वीकृति लिएर रोमानिया गएका छन । गत आव २०८१/८२ मा रोमानियाका लागि २७ हजार ८७४ जनाले श्रम स्वीकृति लिएका थिए । यस्तै आव २०८०/८१ मा १५ हजार २१ र आव २०७९/८० मा १४ हजार २२५ जना रोमानिया गएका थिए । रोजगारका जानकार रामेश्वर नेपालले रोमानियालाई युरोप छिर्ने ‘गेटवे’ का रूपमा धेरै लिने गरेको बताउनुभयो ।

नेपाल सरकारले युरोपमा रोजगारीका लागि सहजीकरण नगर्दा व्यक्ति तथा कन्सल्टेन्सीबाट जानेको सङ्ख्या बढ्दै गएको पाइएको छ । त्यसो त कतिपय वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगार नीतिविपरीत व्यक्तिगत श्रम स्वीकृतिमा पठाउँदै आएको पाइएको छ ।

युरोप रोजगारी व्यक्तिगत रूपमा श्रमिक पठाउन अवैधानिक रहेको अवस्थामा व्यक्तिगत रूपमा श्रम स्वीकृति दिने नाममा प्रतिव्यक्ति रोजगारीमा जानेबाट असुली हुने गरेको अवस्था छ । यसरी असुली हुने रकम न्यूनतम सात/आठ लाखदेखि १५/१६ लाख रुपियाँसम्म रहने गरेको पाइन्छ ।