05/25/2026, 18:03:53
सोमबार, जेठ ११, २०८३

सहकारीको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय


काठमाडौँ, जेठ ११ गते । सरकारले सहकारीको बेथिति जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले भन्नुभयो, ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको छ ।

प्रवक्ता पोखरेलका अनुसार सरकारले वर्षे धानको न्यूनतम समर्थन मूल्यसमेत तोकेको छ । मोटो धानको न्यूनतम समर्थन मूल्य ३६ सय ६० र मध्यम धानको समर्थन मूल्य ३८ सय ६० रुपियाँ प्रति क्विन्टल तोकिएको हो ।

त्यसैगरी सरकारले नेपाल चीन जोड्ने विद्युत प्रशारण लाइन चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

​- नेपाल-चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (Letter of Reply) स्वीकृत ।

– आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ, जस अन्तर्गत मोटा धानको प्रति क्वीन्टल ३,६६० र मध्यम धानको प्रति क्वीन्टल ३,८६० रुपियाँ।

​ – सहकारीमा भएको वेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने ।

– नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोल नियुक्त।