10/07/2026, 12:27:05
बुधबार, असोज २१, २०८३

संविधान संशोधन : आठ वटा विषयलाई केन्द्रमा राखेर सुझाव सङ्कलन


काठमाडौँ, जेठ ११ गते । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहित मुख्य आठ वटा विषयलाई केन्द्रमा राखेर सुझाव सङ्कलन गरिरहेको छ । कार्यदलले संविधान संशोधनका लागि आधारपत्र तयार गर्न सङ्घीयताको प्रभावकारी कार्यान्वयन, प्रदेश र स्थानीय तहको निर्वाचन, न्यायालयमा सुधार, मन्त्रालयको सङ्ख्या र विज्ञलाई मन्त्री बनाउने वा जनप्रतिनिधिलाई भन्नेलगायतका विषयमा सुझाव लिने कार्यलाई तीव्रता दिएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले राजनीतिक दल, नागरिक समाज, संवैधानिक कानुनका ज्ञाता, पूर्वमहान्यायाधिवक्तासँगै सरोकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल गरी सुझाव लिइरहेको छ । कार्यदलले नागरिकका तर्फबाट पनि राय सुझाव माग गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव एवं कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीले शासकीय स्वरूप अहिलेकै ठिक छ वा पूर्ण संसदीय वा संशोधित संसदीय रहने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुने सन्दर्भमा सुझाव लिइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विज्ञ मन्त्री हुने, सांसद मन्त्री नहुने व्यवस्था गर्ने तथा मन्त्रीपरिषद् गठन र मन्त्रीको जवाफदेहिताका सन्दर्भमा पनि सुझाव सङ्कलन भइरहेको छ । साथै निर्वाचन प्रणालीतर्फ प्रत्यक्ष निर्वाचित वा पूर्ण समानुपातिक वा मिश्रित गर्ने र निर्वाचन प्रणालीलाई कसरी थप लोकतान्त्रिक र समावेशी बनाउने, राइट टु रिकल र विदेशमा रहेका नागरिकको मताधिकारका सन्दर्भमा पनि सुझाव सङ्कलन गरिएको छ ।”

राजनीतिक दलसँग जेठ ७ गते सम्पन्न संवादमा संयोजक शाहले सरकारले संविधान संशोधन कार्यलाई राष्ट्रिय सहमतिमै अघि बढाउने र सबै राजनीतिक दललाई समेटेर साझा विन्दु पहिल्याउने प्रस्ट पार्नुभयो । उहाँले संविधान जारी हुँदाको राजनीतिक सङ्घर्ष, जन-आन्दोलन, मधेश आन्दोलन र सहिदको बलिदान स्मरण गर्दै संविधानका संवेदनशील पक्षमा सरकार गम्भीर रहेको बताउनुभयो ।

नेपाल कानुन आयोग सचिव इन्दिरा दाहाल (भट्टराई) २०७२ मा नेपालको संविधान जारी भएपछि अहिलेसम्मको कार्यान्वयनको समीक्षा गरेर संशोधन गर्नुपर्ने विषयलाई कार्यदलले सुझाव दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “तत्कालै संशोधन गर्नुपर्ने विषयलाई अघि बढाउने र संशोधनका सन्दर्भमा फरक मत आएका विषयलाई थप छलफलमा लानु पर्छ । आयोगले नियमित रूपमा संविधान कार्यान्वयनको अवस्थाको अध्ययन गरिरहेको छ । कार्यदलले दिएका सुझावका पनि विस्तृत अध्ययन गर्ने नै छ । समग्रमा संविधानलाई अझै गतिशील बनाउने सन्दर्भमा सरकारले गरेका प्रयासलाई सकारात्मक रूपमा लिनु पर्छ ।”

blog

प्रणालीगत सुधारमा ध्यान

सरकारले राज्य प्रणालीको समग्र सुधारलाई दृष्टिगत गरी संविधान संशोधन गर्ने गरी छलफल चलाएको छ । कार्यदलका सदस्यसचिव सुवेदीले सङ्घ, प्रदेश र स्थानीय तहको व्यवस्थापिकाको सुधार, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको भूमिका, निर्वाचनमा गठबन्धन संस्कृतिलाई कसरी व्यवस्थित बनाउने, प्रशासनिक र वित्तीय सङ्घीयता कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरी सुझाव सङ्कलन भइरहेको बताउनुभयो ।

उहाँका अनुसार प्रदेशको सङ्ख्या, प्रदेशमा संरचनासँगै प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री तथा मन्त्री, जनप्रतिनिधिको सङ्ख्या र प्रदेश मन्त्रालय र संरचना कसरी चुस्त दुरुस्त बनाउने भन्ने सन्दर्भमा सुझाव लिइँदै छ । उहाँले भन्नुभयो, “प्रदेश प्रमुख र निजको भूमिका, निजको अनुपस्थितिमा निजको काम प्रदेशभित्रबाटै कसरी गर्ने र विधेयक प्रमाणीकरण नगरेमा के हुने भनेर विज्ञसँग सुझाव लिइँदै छ ।”

सदस्यसचिव सुवेदीले अहिलेकै दलीय व्यवस्थासहितको स्थानीय तह वा दलविहीन व्यक्तिगत प्रस्तिस्पर्धामा आधारित स्थानीय तह हुने भन्ने विषय पनि छलफलमा छ । उहाँका अनुसार न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउन सरोकारवालाबाट सुझाव लिइँदै छ । उहाँले प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालतका न्यायाधीश र जिल्ला अदालतको न्यायाधीशको नियुक्ति, योग्यता, पदावधि, उमेरहद, उच्च नैतिक चरित्र, आचरण, अनुशासन वा यसै प्रकृतिका विषयमा सुझाव लिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यदलले अदालतकै तर्फबाट गठन भएका विभिन्न प्रतिवेदनले उठान गरेका न्यायपालिकामा हुने विकृति, विसङ्गति बिचौलिया नियन्त्रण गर्ने विषय र न्यायपालिकामा हुन सक्ने राजनीतिक हस्तक्षेप अन्त्य गर्न र सबै तहका न्यायाधीशको पुनर्नियुक्ति गर्ने विषयलाई दृष्टिगत गरी राय सुझाव लिइँदै छ ।”

सदस्यसचिव सुवेदीले न्याय परिषद्को संचनागत सुधार, न्याय परिषद्मा कानुनमन्त्री, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त कानुनविद् र नेपाल बार एसोसिएसनका प्रतिनिधिको उपस्थिति रहने वा नरहने विषयसँगै संवैधानिक परिषद्मा प्रधान न्यायाधीश सदस्य हुने वा नहुने विषयमा छलफल चलाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रतिस्पर्धात्मक विधिबाट न्यायाधीश नियुक्ति गर्नेसम्बन्धी विषय र विधि तथा न्यायाधीश नियुक्तिमा नेपाल न्याय सेवामा कार्यरत अधिकृत कर्मचारीको वृत्तिविकास र कानुन व्यवसायीको नियुक्तिमा सन्तुलन कायम गर्ने विषयलाई कार्यदलले मुख्य छलफलको विषय बनाएको छ ।”

सदस्यसचिव सुवेदीले संवैधानिक इजलासको आवश्यकता र औचित्यसम्बन्धी विषय, सर्वोच्च अदालतमा मुद्दाको चाप घटाउन उच्च अदालतलाई अधिकार थप गर्नेसम्बन्धी विषयसहितका विषयमा पनि सुझाव लिइएको बताउनुभयो । उहाँले संवैधानिक निकायको सङ्ख्या, पदाधिकारीको सङ्ख्या एवं पदाधिकारी नियुक्तिलाई कसरी उत्कृष्ट बनाउने तथा संवैधानिक निकायको स्वायत्तता र उत्तरदायित्वमा सन्तुलन कसरी कायम गर्ने भन्ने विषयलाई मुख्य बहसको विषय बनाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राप्त सुझाव अझै परिस्कृत गरेर संविधान संशोधन बहसको आधारपत्र तयार पारिने छ ।”

– अशोक अधिकारी