05/24/2026, 21:48:20
आइतबार, जेठ १०, २०८३

‘लागुऔषध दुव्र्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’


मोरङ, जेठ १० गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागुपदार्थ दुव्र्यसनी नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभएको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज यहाँ आयोजित लागुऔषध दुव्र्यसनविरुद्धको महाअभियान कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले लागुऔषध दुव्र्यसन व्यक्तिको मात्र नभएर परिवारको विघटन, समाजको विकृति र सिँगो राष्ट्रको विकासको सबैभन्दा ठूलो बाधक रहेकाले यसलाई नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले लागुऔषधविरुद्ध प्रहरीले मात्र नभएर प्रत्येक घर, विद्यालय र समुदायको साझा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लागुऔषधमा परेका युवाको पुनः स्थापनाका लागि कोभिड-१९ को समयमा निर्माण गरिएका मोरङको रानी विराटनगर र झापाको काँकरभिट्टामा रहेको होल्डिङ सेन्टरलाई सुधार गृहको रुपमा विकास गरी जिल्ला प्रशासन कार्यालय मातहत सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले युवा मुलुकको सम्पत्ति भएका उल्लेख गर्दै प्रदेश सरकारले दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम आगाडि बढाएको बताउनुभयो । प्रतिनिधिसभाका सांसद सन्तोष राजवंशीले लागु पदार्थ दुव्र्यसनी समाज र राष्ट्रको साझा समस्या भएकाले यसको नियन्त्रणमा सबै जिम्मेवारीका साथ गर्नुपर्ने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमा क्षेत्रमा हुने लागुऔषधको ओसारपसार नियन्त्रण एवं दुव्र्यसन मुक्त समाज निर्माण गर्नु सबैको जिम्मेवारी भएको बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र गृह मन्त्रालय सहसचिव सुमन घिमिरेले भौतिक पूर्वाधारको विकाससँगै दुव्यसनी मुक्त समाज निर्माण गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले युवा जागेमा समाज र राष्ट्र बन्ने हुनाले लागुऔषध नियन्त्रणमा सक्रियरुपमा लाग्न आग्रह गर्नुभयो । उहाँले लागुऔषधको अवैध कारोबार र सीमापार तस्करीमा संलग्न अपराधीविरुद्ध शून्य सहनशीलता अपनाउनुका साथ कानुनको कडा दायरामा बताउनुभयो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कट्वाल, कोशी अस्पतालकी डा प्रजिता पौडेल, गैरसरकारी संस्थाकी अध्यक्ष विष्णु शर्मा पन्तलगायतले दुव्र्यसनीलाई परिवारको माया र समाजको सहयोग आवश्यक भएको बताउनुभयो । कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लागुऔषधका एक हजार ४३७ मुद्दा दर्ता भएका थिए भने सोही अवधिमा दुई हजार २०३ जना पक्राउ परेका सो अवसरमा जानकारी दिइएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..