

इनरुवा, जेठ ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापनापछि स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताउनुभएको छ । सुनसरीको कोशी गाउँपालिकामा निर्माण गरिएको लौकही सिटी हल उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यता र आदर्श अनुरूपका काम साकार बनाउन स्थानीय तहले सदैव क्रियाशील हुनुपर्ने बताउनुभएको हो ।
उहाँले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकास कार्य तीव्र बनाउन आग्रह गर्नुभयो । उहाँले शान्ति, विकास र सुशासनको माध्यमबाटै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुने प्रस्ट पार्नुभयो । उहाँले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्य सञ्चालन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “यसै सन्दर्भमा ग्रामीण क्षेत्रमा यस्तो आधुनिक तथा बहुउपयोगी सिटी हलको निर्माण हुनु निकै सराहनीय छ । यो परियोजना विकासमा तिनै तहको सरकारबिच हुने सहकार्यको राम्रो उदाहरण पनि हो ।”
राष्ट्रपति पौडेलले सप्तकोशी नदीको किनारमा रहेको कोशी गाउँपालिका ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण ठाउँ भएको बताउनुभयो । उहाँले कोशी गाउँपालिकामा पर्ने सप्तकोशी नदीको कुशाहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएकाले यो ठाउँको सम्बन्ध प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको इतिहास स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “सप्तकोशी बाँधको समीपमा सुनसरी जिल्लाको महत्वपूर्ण धार्मिक स्थल वराहक्षेत्रधाम, रामधुनी, पिण्डेश्वर, दन्तकाली तथा बुढासुब्बा मन्दिर छन् । तसर्थ यस क्षेत्रको भ्रमणबाट मलाई मनोरम अनुभूति पनि भएको छ । ऐतिहासिक, भौगोलिक तथा धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण यो ठाउँ पर्यटन विकासको प्रचुर सम्भावना भएको ठाउँ भएकाले यसलाई त्यही रूपमा विकास गर्न सम्बद्ध सबै पक्षसँंग आग्रह गर्दछु ।”


राष्ट्रपति पौडेलले २०६५ मा कोशी बाँध फुट्दा बस्ती नै विस्थापित भएको ठाउँमा बस्ती पुनस्र्थापित भएकोप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले तिनै तहको सरकारको हातेमालोबाट बाढीपीडित जोखिमयुक्त क्षेत्रमा विपत् व्यवस्थापनका पूर्वतयारीको पर्याप्त व्यवस्था गर्न ध्यान पु¥याउने अपेक्षा आफूले राखेको बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिटीहल निर्माणपछि ठुला कार्यक्रम आयोजना गर्न सहज हुने बताउनुभयो । उहाँले लौकही सिटीहललाई आवश्यकता र प्रदेशकै गहनाका रूपमा लिइएको प्रस्ट पार्नुभयो । उहाँले सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरको सहयोगमा निर्माण सम्पन्न भएको दुई वर्षपछि उद्घाटन भएको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य ई. दीपककुमार साह, प्रदेश सभा सदस्य सदानन्द मण्डल, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले सिटीहल सही ढङ्गले प्रयोग गर्नुपर्ने बताउनुभयो । लौकही सिटीहल सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजारमा निर्माण गरिएको एक आधुनिक तथा बहुउपयोगी सभाहल हो । सङ्घीय सरकारको २८ करोड रुपियाँ लागतमा निर्मित, नौ सय जना क्षमता रहेको सिटीहल तत्काल प्रयोगमा ल्याइने छ ।
– जयकृष्ण यादव
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































