05/15/2026, 13:23:24
शुक्रबार, जेठ ०१, २०८३

राष्ट्र बैंकले ४५ अर्ब निक्षेप खिच्दै


काठमाडौँ, जेठ १ गते । नेपाल राष्ट्र बैंकले शुक्रवार ४५ अर्ब रुपियाँ निक्षेप खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेपछि राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रणालीद्वारा निक्षेप खिच्न लागेको हो । हाल कुल निक्षेप साढे ७७ खर्ब रुपियाँभन्दा बढी पुगेको छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता तथा ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले प्रस्ताव गरेको ब्याजदरअनुसार सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा र ब्याज २०८३ असार १२ गते भुक्तानी गरिनेछ ।

बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपियाँ तोकिएको छ भने अधिकतम रकम ५ करोड रुपियाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहनेछ ।

केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन तथा बजार ब्याजदरलाई व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार बढीमा ६ महिनासम्म अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्र बैंकले पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..