05/08/2026, 18:31:39
शुक्रबार, बैशाख २५, २०८३

संघीय सरकारको गलत काम प्रदेश र स्थानीय तहले दोहोर्‍याउन हुँदैन : कांग्रेस सभापति थापा

दशकौंदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या बल प्रयोगबाट नभई योजनाबद्ध र मानवीय ढंगले समाधान गर्नुपर्नेमा जोड दिए । वास्तविक सुकुम्बासीको पहिचान, सुरक्षित पुनर्वास, आधारभूत सेवाको सुनिश्चितता र दीर्घकालीन व्यवस्थापनलाई केन्द्रमा राखेर मात्रै कदम चाल्नुपर्ने सभापति थापाको धारणा


काठमाडौँ, वैशाख २५ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय सरकारले गरेको गलत कामहरु प्रदेश र स्थानीय सरकारहरुले नगर्न आग्रह गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘ग्रीन टेबल’ छलफल श्रृंखला अन्तर्गत सुकुम्बासी समस्यासम्बन्धी कार्यक्रममा सभापति थापाले संघीय सरकारले गरेका कमजोरी प्रदेश र स्थानीय सरकारले दोहोर्‍याउन नहुने स्पष्ट सन्देश दिएका हुन् ।

उनले सुकुम्बासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका नाममा कानुनभन्दा बाहिर गएर डोजर चलाउने शैली स्वीकार्य नहुने स्पष्ट पारे । उनले डोजर चलाउने हल्ला र त्रासको पछि नलाग्न आग्रह गर्दै कानुन, नीति र योजनाका आधारमा मात्रै समस्या समाधान खोजिनुपर्नेमा जोड दिए । ‘कानुनले दिएको अधिकारभन्दा बाहिर गएर केही पनि गर्नु हुँदैन,’ थापाले भने ।

सभापति थापाले दशकौंदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या बल प्रयोगबाट नभई योजनाबद्ध र मानवीय ढंगले समाधान गर्नुपर्नेमा जोड दिए । वास्तविक सुकुम्बासीको पहिचान, सुरक्षित पुनर्वास, आधारभूत सेवाको सुनिश्चितता र दीर्घकालीन व्यवस्थापनलाई केन्द्रमा राखेर मात्रै कदम चाल्नुपर्ने उनको धारणा थियो ।

थापाले पार्टीले यस विषयमा छुट्टै टोली बनाएर अनुगमन र मूल्यांकन गरिरहेको जानकारी दिँदै ग्रिन टेवलको छलफलबाट आएका सुझावका आधारमा सबै प्रदेश तथा स्थानीय सरकारलाई औपचारिक पत्राचार गरिने पनि जानकारी दिए ।

– कुलचन्द्र न्यौपाने