05/07/2026, 21:54:33
बिहिबार, बैशाख २४, २०८३

बाँदर आतंकले खेतबारी छाडेर सहर पस्दै किसान


उदयपुर, वैशाख २४ गते । उदयपुरको विकट पहाडी क्षेत्रको ताप्ली गाउँपालिका–५ भदौरेका चक्रबहादुर मंग्रातीले जीवनभर मेहनतले जोतेको खेतबारी, पुर्ख्यौली घर र गाउँ नै छाड्नुपर्‍यो । हरेक वर्ष खेतबारीमा लगाएको धान, मकै, कोदो, फलफूल र तरकारी बाँदरले सखाप पार्न थालेपछि उनी विकल्पहीन बने । अनेक उपाय अपनाउँदा पनि खेती जोगिन नसकेपछि मंग्राती परिवारसहित काठमाडौंको कीर्तिपुर बसाइँ सरेका छन् ।

अहिले उनी दैनिक ज्याला मजदुरी गरेर जीविका चलाइरहेका छन् । ‘खेती नै हाम्रो जीवन थियो तर, बाँदरले उत्पादन भित्र्याउनै दिएन,’ मंग्रातीले पीडा पोख्दै भने, ‘महिनौंको दुःख एकैछिनमा सखाप पारिदिएपछि गाउँ छाड्नुको विकल्प रहेन ।

मंग्राती मात्रै होइन, भदौरे र आसपासका गाउँबाट ईश्वर नेपाली, कृष्ण मंग्राती, शारदा भट्टराई, नरबहादुर कार्की लगायत धेरै परिवार बाँदर आतंककै कारण विस्थापित भएका छन् । ताप्ली–५ मादलेका दिनेश खिलिगेंको पीडा पनि उस्तै छ । ‘बारीमा लगाएको मकै कहिल्यै घर भित्र्याउन पाइएन,’ उनले भने, ‘चौबिसै घण्टा बाँदर कुरेर बस्न सकिँदैन, कतिबेला आएर सबै सखाप पार्छ, थाहै हुँदैन, अन्ततः बारी बाँझै छाडेर बसाइँ सर्नुपर्‍यो ।

 

किसानहरू आजित भएपछि ताप्ली गाउँपालिकाले आर्थिक वर्ष ०८१/०८२ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेर बाँदर धपाउने बन्दुक खरिद गरेको थियो । ४२ वटा टोल विकास संस्थालाई एक–एक थानका दरले बन्दुक वितरण गरियो । गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माका अनुसार सुरुवातमा बन्दुकको आवाजले बाँदर भाग्ने गरेका थिए । ‘पहिला आवाज सुन्नासाथ भाग्थे,’ उनले भने, ‘अहिले त बन्दुक पड्किँदा पनि वास्ता गर्न छाडिसके । कानुनी रूपमा मार्न नपाइने भएकाले नियन्त्रणका अन्य उपाय पनि प्रभावकारी हुन सकेका छैनन् ।

कटारी नगरपालिका–२ गुराँसका किसान उद्धव खत्री बाँदरले आँपको बोटमै चिचिला नष्ट गर्न थालेपछि चिन्तित छन् । फूल लाग्न थालेदेखि नै बाँदरले सखाप पारिदिने भएकाले मेहनत खेर जाने गरेको उनले बताए ।

स्थानीयका अनुसार वनजंगल विनाश हुँदै जाँदा जंगलमा पर्याप्त आहारा नपाएका बाँदर बस्ती पस्न थालेका हुन् । अहिले खेतबारी मात्र होइन, घरभित्र पसेर समेत उपद्रव मच्चाउने गरेको गुनासो बढ्दो छ । उदयपुरगढी गाउँपालिका–४ ढुाग्रेका कटकबहादुर मगर भन्छन्, ‘दिनभर त पहरा दिएकै हुन्छौं । कति बेला हुल आएर सबै नष्ट गरेर जान्छन् ।’ बाँदरले करेसाबारीका तरकारी, फलफूल मात्र होइन, घरको बार्दलीमा राखिएका सामग्रीसमेत नष्ट गर्न थालेको स्थानीय बताउँछन् ।

लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिक्षाका बलराज राईका अनुसार गाउँमा युवा जनशक्ति अभाव हुँदा समस्या झन् जटिल बनेको छ । ‘रोजगारीको खोजीमा युवा विदेश र सहरतिर गए,’ उनले भने, ‘गाउँमा बृद्धबृद्धा र बालबालिका मात्रै छन् । बारी बाझिँदै गएपछि बाँदर झन् गाउँ पसेका छन् ।’ उनका अनुसार बाँदरको व्यवहार पनि पहिलेभन्दा आक्रामक बन्दै गएको छ । ‘पहिला धपाउँदा भाग्थे, अहिले त उल्टै झम्टिन आउँछन्,’ उनले भने ।

स्थानीय तहहरूले पटक–पटक छलफल गरे पनि बाँदर नियन्त्रणको प्रभावकारी उपाय अझै फेला पर्न सकेको छैन । कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका अनुसार यो समस्या उदयपुरमा मात्रै सीमित छैन । ‘देशभरका किसान बाँदर आतंकबाट पीडित छन्,’ उनले भने, ‘स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन । संघीय सरकारले स्पष्ट नीति बनाएर दीर्घकालीन समाधान लागू गर्न आवश्यक छ ।

पहाडका गाउँमा खेतीयोग्य जमिन बाझिँदै जानु, किसान विस्थापित हुनु र कृषि उत्पादन घट्दै जानु केवल स्थानीय समस्या नभई राष्ट्रिय खाद्य सुरक्षासँग जोडिएको चुनौती बनिरहेको विज्ञहरू बताउँछन् । तर सरकार भने अझै प्रभावकारी नीति र कार्ययोजनाविहीन देखिन्छ ।

– राकेश नेपाली