04/22/2026, 16:01:46
बुधबार, बैशाख ०९, २०८३

सामाजिक सञ्जालको दुरुपयोगले यौन हिंसा र बलात्कारको सिकार बन्दै बालबालिका


धरान, वैशाख ९ गते । १७ वर्षीया सबिना (नाम परिवर्तन) अहिले पनि ती पुरानो घटनालाई सम्झेर झस्किन्छिन् । धरान उपमहानगरपालिकाकी सबिना सानै उमेरदेखि छिमेकीबाटै यौन शोषणमा परेकी थिइन् । उनलाई याद भएअनुसार ९ वर्षको उमेरदेखि छिमेकी अंकलले उनलाई मोबाइल देखाउने बहानामा यौन दुर्व्यवहार गर्ने गरेको उनले बताइन् ।

सानै उमेरदेखि देख्दै आएको मान्छेले नै आफूलाई त्यस्तो दुर्व्यहार गर्छ भनेर उनले कहिल्यै सोचेकी थिइनन् । सँगै हुर्केको साथीको बाबा भएका नाताले पनि उनलाई बुवा-समान मान्थिन्। घर छेउछाउमै भएकाले आउ-जाउ निरन्तर हुन्थ्यो । सबिना उनलाई अभिभावकका रूपमा हेर्ने र अंकल भनेर सम्बोधन गर्ने गर्थिन् ।

म साथीकहाँ खेल्न जाँदा अंकलले मलाई सधैं उहाँको कोठामा बोलाउनु हुन्थ्यो, कहिले चाबी ल्याइदेऊ भन्ने बहाना त कहिले मोबाइल देखाउने बहानामा,’  उनले भनिन्, ‘मलाई थाहा थिएन ममाथि गलत हुँदैछ भनेर । मलाई पछिबाट उहाँको छुवाइ गलत र असहज लाग्न थाल्यो । मैले प्रतिकार गर्दा उहाँले तिमी त मेरी छोरीजस्तै त हौ केको लाज भन्दै गोप्य अंग छुने, सुम्सुमाउने गर्नु हुन्थ्यो । मलाई अंकलदेखि डर लाग्न थाल्यो र उहाँदेखि भाग्न थालेँ ।

कोरोनाको समयमा विद्यालय बन्द भएपछि अनलाइन क्लासका लागि प्राय:जसो बालबालिकाको हातमा मोबाइल फोनको पहुँच विस्तार भएसँगै सबिनाको हातमा पनि मोबाइल आइपुग्यो । तर त्यो फोनले आफू झनै जोखिममा पर्छु भनेर उनले कहिल्यै सोचिनन् । उनी भन्छिन्, ‘मलाई अनलाइन क्लासका लागि घरबाट मोबाइल किन्दिनु भएको थियो । त्यसबेला मेरो दिदीले फेसबुक अकाउन्ट खोलिदिनु भयो । अंकलले पनि मलाई फेन्ड रिक्वेष्ट पठाउनुभयो । अंकलले मलाई रिक्वेष्ट पठाएको छु, एक्सेप्ट गर भन्नुभयो । मैले डर लाग्दै रिक्वेष्ट एक्सेप्ट गरेँ ।

त्यसपछि सबिनालाई उनले निरन्तर म्यासेज गर्ने, फोन गर्ने गर्न थाले। उनी भन्छिन्, ‘कहिले राती पनि कल गर्ने, फोन नउठाउँदा घरमै आएर फोन किन नउठाएको भन्दै थर्काउने गर्न थाल्नु भयो ।’  म्यासेजमा अश्लील भिडियो पठाउने, अश्लील शब्द प्रयोग गरेर म्यासेज पठाउने गर्न थाले । यस्तो भिडियो नपठाउनू भन्दा उल्टै धक्याउने गरेको सबिनाले सुनाइन् ।

आफू १३ वर्षको हुँदा जबरजस्ती करणी भएको सबिनाले सुनाइन् । उनी त्यस क्षणलाई सम्झिँदै भन्छिन्, ‘म कक्षा ८ मा पढ्दा अंकलले मलाई उहाँको घरमा चाबी ल्याइदेऊ भन्ने बहानामा बोलाउनु भयो । म चाबी पुर्‍याउन उहाँको घर गएँ । घरमा कोही नभएको बेलामा मलाई कोठामा लगेर ढोका थुनी खाटमा पल्टाउनु भयो । मेरा लुगा फुकालिदिनु भयो । मैलै चिच्याउन खोज्दा मेरो मुख थुनिदिनुभयो ।

सबिना आँखाभरि आँसु बनाउँदै भन्छिन्, ‘अंकलले मलाई धम्क्याउँदै ठूलो स्वरले कराइस् भने तँलाई यहीँ मारेर गाडिदिन्छु भन्नुभयो । डरले मेरो आँखाबाट आँसु झरिरहेको थियो तर आवाज बाहिर निस्केन । मैले लगाएका लुगाहरु भुइँभरि छरपस्ट थिए । डरधम्की देखाई मलाई जबरजस्ती करणी गरियो । यो कुरा कसैलाई भने मारिदिने धम्की दिनुभयो । मैले डरले कसैलाई भन्न सकिनँ ।

सबिनाका अनुसार त्यसपछि पनि बारम्बार म्यासेज र कल गर्ने, गोप्य अंग देखाउन भन्ने, नग्न फोटो, भिडियो पठाउन भन्ने र नपठाए धम्क्याउने गर्न थाले । ‘म्यासेन्जरमा यौनजन्य अश्लील भिडियो, फोटोहरू पठाएर मलाई पनि त्यस्तै गर भन्ने । मेरो घरमा कोही नभएको बेला आउने, कोठामा आएर जबरजस्ती गर्ने गर्न थाले । मैले यो कुरा डरले घरमा कसैलाई भन्न सकिरहेकी थिइनँ । म एकदमै डराइरहेकी थिएँ । अंकल मेरो घर आउने बित्तिकै म ममीको कोठामा लुक्ने गर्थें,’ उनी भन्छिन् ।

९ वर्षदेखि दुर्व्यवहार र बलात्कृत भएको सहँदै आएकी उनले १४ वर्षको उमेरमा फेरि बलात्कृत हुन पुगेपछि चुप बसिनन् । उनी भन्छिन्, ‘२०८१ चैत अन्तिममा अंकलले मेरो घरमा कोही नभएको मौका छोपी मलाई जबरजस्ती करणी गर्नु भयो र फेरि पनि कसैलाई भने मार्ने धम्की दिनुभयो । यो पटक मैले हिम्मत जुटाएर दुई महिनापछि साथीलाई सुनाएँ । साथीले विद्यालयको मिसलाई सुनाइन् । मिसले यस्तो कुरा लुकाउनु हुँदैन् भनी हिम्मत दिनु भयो । त्यसपछि २०८२ असारमा इलाका प्रहरी कार्यालय धरानमा गएर रिपोर्ट दर्ता गराएको  उनले बताइन् ।

जबरजस्ती करणीको अभियोगमा अहिले खड्गबहादुर केरुङ झुम्का कारागारमा छन् । जिल्ला अदालत सुनसरीले उनलाई जबजस्ती करणीको अभियोगमा १२ वर्षको कैद सजाय तोकेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै त्यसको नकारात्मक प्रभाव पनि देखिन थालेको छ । विशेष गरी बालिका लक्षित अनलाइन शोषणका घटना बढ्दै गएको भ्वाइस अफ चिल्ड्रेनको अध्ययनले देखाएको छ । संस्थाले सञ्चालन गरेको साइबर सेफ्टी परियोजना अन्तर्गत गरिएको अध्ययन अनुसार पछिल्लो चार वर्षको अवधिमा कोशी प्रदेशको सुनसरीमा मात्र १ सय २२ जना बालिका सामाजिक सञ्जालको माध्यमबाट विभिन्न प्रकारका शोषणमा परेको तथ्य सार्वजनिक भएको छ ।

संस्थाका अनुसार फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफार्म मार्फत परिचित-अपरिचित व्यक्तिहरूसँग सम्पर्क बढ्दै जाँदा बालिकाहरू भावनात्मक, यौनजन्य तथा आर्थिक शोषणको जोखिममा पर्ने गरेका छन्। धेरैजसो घटनामा प्रारम्भमा मित्रता गर्ने, विश्वास जित्ने , प्रेम प्रस्ताव गर्ने र पछि ब्ल्याकमेल गर्ने प्रवृत्ति देखिएको बताइएको छ ।

इटहरीकी १६ वर्षीय झुमा (परिवर्तित नाम) पनि अन्जान व्यक्तिको प्रेम प्रस्तावले बलात्कृत हुन पुगिन् । साधारण परिवारमा जन्मिएकी झुमा कक्षा १२ मा पढ्दै गर्दा फेसबुकमा नचिनेको मान्छेसँग साथी बन्न पुगिन् । झुमाको परिवारमा ६ जना सदस्य छन् । बुवा सिटी सफारी चलाउने र आमा घरको काममा व्यस्त हुन्थिन् । दिनभरि कलेज सकेपछि त्यही अन्जान व्यक्तिसँग च्याट गर्ने , बोल्ने गर्दा गर्दै मित्रता प्रेम सम्बन्धमा परिणत भयो।

उनी भन्छिन्,  ‘मेरोमा अविनाश नाम गरेको फेसबुक आईडीबाट रिक्वेष्ट आयो । बाहिरबाट हेर्दा गुड लुकिङ नै लाग्यो, त्यसपछि मैले रिक्वेष्ट एक्सेप्ट गरेँ । हामी बोल्दै गइम् । इटहरीकै मान्छे भए पनि मैले कहिल्यै देखेकी थिइनँ । बिस्तारै बोल्दै गएपछि उनले मलाई प्रेम प्रस्ताव राखे । मैले पनि उनको प्रेम प्रस्ताव स्वीकार गरेँ । एकदिन उनले मलाई म्यासेज , फोनमा मात्र कति बोल्ने ? अब हामी भेट्नुपर्छ भने । मैले पनि नाई भन्न सकिनँ ।

यसरी भेट्ने योजना बनाएर शनिबार भेटघाट भयो । पहिला पार्कमै भेट्ने योजना बने पनि अन्तत: उसकै जोडबलमा होटलमा भेटेको झुमाले बताइन् । ‘मैले होटलमा त नभेटौं भन्दा उनले मेरो माया लाग्दैन, मलाई बिश्वास गर्दैनौं भनेर इमोसनल ब्ल्याकमेल गर्यो र मैले पनि नाई भन्न सकिनँ,’ उनले भनिन् ।

भावनामा बगेर उनले केटाको प्रताव अस्वीकार गर्न सकिनन् र होटलमा भेट्ने निधो गरिन् । होटलको नाम र ठेगाना उसले नै पठाएको र आफू सफारी चढेर त्यस होटलसम्म पुगेकी झुमाले सुनाइन् । होटलको कोठामा पुग्दा त्यहाँ अन्य दुई जना केटाहरु पनि थिए । ‘त्यसपछि मलाई ज्यादै डर लाग्यो । मैले म घर जान्छु भन्दा अविनाशले बस न उनीहरू मेरा साथी हुन् भन्दै जबरजस्ती गर्‍यो । केही हुँदैन, खाएर गइहाल्छन् भन्यो । कोठामा खानेकुरा र बियर पनि राखिएको थियो,’  उनले भनिन्, ‘म बसिरहेकी थिएँ । त्यही बेला उनीहरुले मलाई जबरजस्ती समातेर मेरा लुगाहरु फुकालिदिन थाले । मेरो मुख थुनिदिएर तीनै जनाले जबरजस्ती करणी गरे । सुरुमा मैले यो कुरा कसैलाई भन्न सकिनँ । पछि हिम्मत जुटाएर सबै कुरा साथीलाई सुनाएँ । साथीले संस्थाको दिदीलाई सुनाइन् र त्यसपछि दिदीसँग गएर प्रहरीमा उजुरी दिएँ ।

आजको समय डिजिटल प्रविधिको समय हो । सामाजिक सञ्जालले मानिसको जीवनशैली नै परिवर्तन गरिसकेको छ। बाल-बालिकाहरू विशेषगरी बालिकाहरू यसबाट बढी प्रभावित भइरहेका छन्। सही प्रयोगले ज्ञान, सीप र अवसर दिन सक्छ भने यसको अत्यधिक प्रयोगले लतको रूप लिएर गम्भीर समस्या निम्त्याउन सक्ने भ्वाइस अफ चिल्ड्रेनका प्रकाश माइते बताउँछन् ।

त्यस्तै, अध्ययनमा समावेश भएका धेरै बालिकाले शोषणका घटनाबारे परिवार वा सम्बन्धित निकायमा खुलाउन नसक्ने अवस्था रहेको पनि देखिएको उनले बताए । सामाजिक डर, लाज र अपराधीको धम्कीका कारण पीडितहरू मौन बस्न बाध्य हुने गरेका छन्।

माइतेका अनुसार बालबालिकामा डिजिटल साक्षरताको अभाव, अभिभावकको निगरानी कमजोर हुनु तथा सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी पर्याप्त जानकारी नहुनु यसका मुख्य कारण भएको उनले बताए । ‘बालबालिका प्रविधिमा छिटो अभ्यस्त भइरहेका छन्, तर सुरक्षित प्रयोगबारे उनीहरूलाई पर्याप्त ज्ञान छैन,’ उनले भने, ‘अर्को भनेको परिवारले आफ्ना बच्चामा निगरानी नराख्दा बालबालिकाका अन्जानमै बालयौन दुर्व्यवहारको सिकार बन्न पुगिरहेका छन् ।

इटहरी-५ की १४ वर्षीया माया (परिवर्तित नाम) कक्षा १० मा अध्यननरत थिइन् । उनका अभिभावकले उनलाई अनलाइन कक्षा र पढाइका लागि मोबाइल किनिदिएका थिए। सुरुमा उनले मोबाइललाई पढाइको साधनका रूपमा प्रयोग गरिन्, तर बिस्तारै उनको ध्यान फेसबुक, टिकटक र इन्ष्टाग्राम जस्ता प्लेटफर्मतर्फ मोडिन थाल्यो।

बुवा मजदुरी काम गर्थे । आर्थिक अवस्था कमजोर भएकाले उनकी आमा पनि दिनभर अरूको घरमा सरसफाइको काम गर्थिन् । दिनभर आमाबुवा नै व्यस्त भएका कारण उनलाई पर्याप्त निगरानी थिएन । स्कुलबाट आएपछि उनी एक्लै घरमा हुन्थिन् । सुरुमा उनी दिनको केही समय मात्र भिडियो हेर्थिन्। रमाइला भिडियो, नाचगान र साथीहरूको पोस्टले उनलाई आकर्षित गर्‍यो। बिस्तारै लाइक, कमेन्ट र फलोअर्स बढाउने चाहना जाग्न थाल्यो। यही क्रममा उनी फेसबुकमा अन्जान व्यक्तिहरुसँग पनि बोलचाल गर्न थालिन् । मायाका अभिभावकका अनुसार उनमा फोनको लत बसिसकेको थियो । चिनेका हुन् या नचिनेका- जो मान्छेसँग पनि बोल्ने, रिक्वेस्ट पठाउने, टिकटकमा फोटो पोष्ट गर्ने काम गर्थिन् ।

केही महिनामै उनको जीवनशैली पूरै बदलियो । उनी राति अबेरसम्म मोबाइल चलाउने, फेसबुकमा मान्छेहरुसँग रातभरि बोल्ने गर्ने गर्न थाल्थिन् । एकदिन अन्जान व्यक्तिले उनलाई भेट्न बोलाउँछ । ‘परिवारलाई ढाँटेर साथी भेट्ने बहाना बनाएर बाहिर गएँ । त्यस अन्जान व्यक्तिले इटहरीको एक होटलमा बोलाएर यौन सम्पर्कको प्रस्ताव राख्यो,’ उनले भनिन्, ‘मैले पनि त्यो प्रस्ताव सहजै स्वीकार गरेँ ।

उनका अनुसार त्यस व्यक्तिले उनलाई नयाँ फोन किन्दिने, नयाँ लुगा किन्दिने प्रलोभन देखाएको थियो । चार महिनापछि उनको पेट सामान्य मान्छेको भन्दा ठूलो हुँदै गयो । छिमेकीहरुले शंका गर्न थालेपछि उनकी आमाले पनि वास्तविक कुरा के हो भनी सोधपुछ गर्न थालिन् । त्यसपछि मेडिकलमा प्रेग्नेन्सी चेकका लागि भिडियो एक्सरे गर्दा रिपोर्टमा चार महिनाको गर्भ रहेको पाइयो । ‘त्यसपछि म त छाँगाबाट खसेजस्तै भएँ,’  मायाकी आमा भन्छिन्, ‘मेरी १४ वर्षकी छोरी गर्भवती छिन् भनेको सुन्दा म मर्नु न बाँच्नुको भएँ ।’  सामाजमा कसरी मुख देखाउने भन्ने डर एकातिर र छोरीको जिन्दगी अब के हुन्छ भन्ने पिरले आफ्नो दिमाग शून्यजस्तै भएको उनले सुनाइन् ।

छोरीलाई समय र उनीमाथि निगरानी गरेको भए आज यो दिन आउँदैन थियो होला,’  उनले भनिन्, ‘अब त पछुताउनुबाहेक मसँग केही बाँकी नै छैन ।

आजको डिजिटल युगमा सामाजिक सञ्जाल बाल-बालिकाको दैनिकीको हिस्सा बनिसकेको छ। अनलाइन कक्षा, मनोरञ्जन, साथीभाइसँगको सम्पर्क यी सबैका लागि यसको प्रयोग उपयोगी भए पनि अत्यधिक प्रयोगले लतको रूप लिँदै गएको छ भने अनलाइन यौन दुर्व्यवहार, साइबर बुलिङ, ब्ल्याक मेलिङ जस्ता जघन्य अपराध गर्न पनि सहज बनाएको सामाजिक अभियन्ता तथा अधिवक्ता प्रेमकला राई बताउँछिन् । सामाजिक सञ्जालले बाल-बालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा असर पारिरहेको छ ।

फेसबुक, टिकटक, इन्स्टाग्राम, वाट्सएप इत्यादि जस्ता प्लेटफर्ममार्फत बालिकाहरू भावनात्मक, यौनजन्य तथा आर्थिक शोषणको जोखिममा पर्ने गरेका छन् । सामाजिक सञ्जालको प्रयोग गरी मायाजाल , रोजगारी प्रलोभन , आकर्षक तलब , नेटवर्किङ बिजनेसजस्ता नाममा मानव बेचबिखनजस्ता जघन्य अपराधका घटनाहरु पनि बढ्दै गइरहेको उनले बताइन् ।

बालबालिकामा लत कसरी विकसित हुन्छ भन्ने बुझ्न आवश्यक रहेको उनी बताउँछिन् । सामाजिक सञ्जालमा आउने लाइक, कमेन्ट र नोटिफिकेसनले दिमागमा आनन्दको अनुभूति दिने ‘डोपामिन हर्मोन ’सक्रिय हुन्छ । यसले बारम्बार फोन चलाउने बानी बसाल्छ । बिस्तारै यो बानी नियन्त्रणबाहिर जान्छ र बालबालिका घण्टौंसम्म स्क्रिनमा व्यस्त रहने अवस्था आउँछ ।

यस समस्याको समाधान वा यस लतबाट छुटकारा पाउनका लागि अभिभावक, शिक्षक र समाज सबैको भूमिका महत्त्वपूर्ण छ। अभिभावकहरूले बालबालिकाको स्क्रिन टाइम सीमित गर्ने, वैकल्पिक गतिविधि (खेलकुद, पढाइ, सिर्जनात्मक काम) मा संलग्न गराउने र खुला संवाद गर्ने वातावरण बनाउनु आवश्यक रहेको सरोकारवाला बताउँछन् । विद्यालयहरूले पनि डिजिटल साक्षरता र जिम्मेवार प्रयोगबारे शिक्षा दिनु आवश्यक रहेको अधिवक्ता राई बताउँछिन् ।

भ्वाइस अफ चिल्ड्रेनले साइबर अपराध नियन्त्रणका लागि कडा कानुन कार्यान्वयन, विद्यालय तहदेखि नै डिजिटल सुरक्षासम्बन्धी शिक्षा र अभिभावकलाई सचेतना कार्यक्रम आवश्यक रहेकामा जोड दिएको छ । ‘बालबालिकाले अनलाइन प्लेटफर्म प्रयोग गर्दा व्यक्तिगत जानकारी सुरक्षित राख्न, अपरिचितसँग सम्पर्क नगर्न र कुनै समस्या परे तुरुन्त विश्वासिलो व्यक्तिलाई जानकारी गराएर बेलैमा सुरक्षित हुन आवश्यक छ,’ भ्वास अफ चिल्ड्रेनका प्रकाश माइतेले भने । सामाजिक सञ्जालले अवसर मात्र होइन, जोखिम पनि बोकेको हुँदा समयमै सचेत नबने थप बालबालिका शोषणको चपेटामा पर्न सक्ने खतरा रहेको उनी बताउँछन् ।

– एलिना राई