

काठमाडौँ, वैशाख ९ गते । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा नैतिकता, स्वार्थ द्वन्द्व र निष्पक्ष छानबिनको आधारमा पद छोडेको उल्लेख गरेका छन्।
२०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्ला दिनमा आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।
स्टाटसमा उनले “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन” भन्दै सार्वजनिक जीवनमा पारदर्शिता र उत्तरदायित्व अनिवार्य भएको उल्लेख गरेका छन्।
उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेन जेड आन्दोलनले पनि सार्वजनिक नेतृत्व स्वच्छ हुनुपर्ने सन्देश दिएको बताएका छन्।
गुरुङले लेखेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेष्ट नदेखियोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।”
उनले आफ्नो निर्णयलाई नैतिक जिम्मेवारीको रूपमा व्याख्या गर्दै पदमा रहँदा छानबिन प्रक्रियामा कुनै असर नपरोस् भन्ने उद्देश्य रहेको स्पष्ट पारेका छन्।
स्टाटसको अन्त्यमा उनले सञ्चारकर्मी, नागरिक र युवाहरूसँग सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































