

लमजुङ, वैशाख ९ गते । विवाहमा नभई नहुने वस्तु भनेको गरगहना र दाइजोलाई मानिन्छ । समाज तथा आफन्तजनलाई देखाउनकै लागि पनि धेरै गरगहना र दाइजो दिने प्रचलन नेपाली समाजमा व्याप्त छ । यद्यपि दाइजो लिने प्रचलन कानुनी रूपमा गलत मानिए पनि सामाजिक रूपमा भने गरगहना र दाइजो लिनेदिने प्रचलन निकै व्याप्त रहेको छ । यो प्रचलनलाई यहाँको एक विवाहमा बहिष्कार गरिएको छ ।
बेँसीसहर नगरपालिका–९ निवासी गोमा अर्यालले आफ्नो विवाहमा गरगहना र दाइजोलाई बहिस्कार गर्नुभयो । अर्यालले सोमबार सम्पन्न विवाहमा सुनका गहना नलगाएरै विवाह गर्नुभयो । समाजमा भएका गलत संस्कारको बहिष्कार गर्नुपर्छ भन्ने सन्देश दिन सुनका गहना नलगाएरै विवाह गरेको नव दुलही गोमा अर्यालले बताउनुभयो ।
उहाँको चितवन निवासी सागर रावतसँग बेँसीसहरको उदिपुरस्थित कालिका मन्दिरमा विवाह भएको उहाँका दाजु कुमार अर्यालले जानकारी दिनुभयो । बेहुलीले विवाहमण्डपमा रहँदा पञ्चधातुबाट बनेको सुन जस्तै देखिने गहना लगाउनुभएको थियो । स्वयंवर गर्दा बेहुलाबेहुलीले कुसको औँठी साटासाट गर्नुभयो ।


गोमा आप्रवासी स्रोत केन्द्र लमजुङमा सहजकर्ता पदमा कार्यरत हुनुहुन्छ । सागर कृषिमा स्नातक उत्तीर्ण युवा हुनुहुन्छ । गोमाले भन्नुभयो, “मैले विवाहमा सुनका गरगहना लगाइन । विवाह गरगहना र दाइजोबिना पनि गर्न सकिन्छ भन्ने समाजमा सन्देश दिन मैले त्यस्तो गरेकी हुँ ।” दिनहुँ आकासिँदै गएको सुनको भाउले निम्न वर्गका परिवारमा विवाह गर्नै मुस्किल पर्न थालेकाले आपूmले यो कदम उठाएको उहाँले बताउनुभयो । सुनबिनाको विवाह गर्ने सामाजिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता खड्किएका बेला गोमाको जोडीले देखाएको उदाहरण थप प्रेरणा मिल्न सक्ने स्थानीय बासिन्दाले बताएका छन् ।
सुनको भाउ वृद्धि भइरहेका बेला गोमा र सागरको सुनबिनाको बिहेले समाज रूपान्तरणमा थप राहत मिलेको सामाजिक अभियन्ताहरूले बताएका छन् । उहाँको बिहेको विषयमा सामाजिक सञ्जालमा प्रशंसा पनि गर्न थालिएको छ । गोमाका दाजु कुमारले भन्नुभयो, “आर्थिक रूपमा बोझिलो हुने परम्पराहरूको अन्त्य गर्नु पर्छ । मेरी बहिनीले सुनबिनाको विवाह गर्न आँट गरेको देख्दा खुसी लागेको छ ।”
मुलुकी अपराध संहिता २०७४ ले दाइजो लिनुलाई अपराध मानेको छ । यसमा आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलाहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउन हुँदैन भनिएको छ । दाइजो लिने, दिने र दाइजोको मोलमोलाई गराउने सबै पक्षलाई सजायको भागीदार बनाएको छ । दाइजो लिने व्यक्तिलाई तीन वर्षसम्म कैद वा रु. ३० हजारसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































