04/13/2026, 19:15:04
सोमबार, चैत ३०, २०८२

पोखरा महानगरद्वारा नि:शुल्क सुविधा सम्पन्न विद्युतीय सटल बस सेवा


लेखनाथ, चैत ३० गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ । पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने यात्रुसँग ट्याक्सी व्यवसायीले चर्काे शुल्क लिने गरेको गुनासो छ ।

अन्य सार्वजनिक यातायात नपाइने र ट्याक्सी सेवा महङ्गो भएपछि विमानस्थलबाट अमरसिंह चोकसम्म सुविधा सम्पन्न विद्युतीय सटल बस सेवा चलाउन लागिएको हो । महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले नयाँ वर्षबाट सुरु हुने सेवा असार मसान्तसम्म यात्रुले सित्तैमा पाउने उल्लेख गर्नुभयो ।

विमानस्थल प्रशासनसँग समन्वय गरी उडान भएका बेला बस चल्ने छन्,” उहाँले भन्नुभयो, “अहिलेलाई दुई वटा बसले सेवा दिने छन् । असारपछि भने न्यूनतम शुल्क लिइने छ ।” महानगरपालिकाको पहलमा विभिन्न वित्तीय संस्था तथा मोटर सञ्चालन कम्पनीहरूको साझेदारीमा यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।

महानगर प्रमुख धनराज आचार्यले पोखरावासीलाई नयाँ वर्षको उपहारका रूपमा यो सेवा सुरु हुन लागेको बताउनुभयो । “यो सेवाले विमानस्थलबाट मुख्य बजार क्षेत्रसम्म यात्रुलाई जान र विमानस्थल आउन सहज हुने छ,” उहाँले भन्नुभयो ।

असारसम्मका लागि साझेदार खोज्ने वा महानगर आफैंले सञ्चालन खर्च बेहोर्ने तयारी छ । एक विद्युतीय बसको मूल्य एक करोड ३० लाख रहेको महानगरले जनाएको छ । जोखिम न्यूनीकरण केन्द्रसमेत मङ्गलबारबाटै सञ्चालनमा ल्याउने तयारी छ ।

– फडिन्द्र अधिकारी